यति बेला नेपालसहित विश्व बजारमा सुनको भाउ निरन्तर वृद्धि भइरहेको छ । एक वर्षको अवधिमा सुन एक तोलामै करिब ३८ हजारले वृद्धि भएको छ । सोमबार मात्र एक लाख ५० हजार पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको छ । सुनको मूल्य अझै माथि जाने भनाइहरू सार्वजनिक भइरहेका छन् । तर, विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्य अहिले अस्वाभाविक रूपमा बढेको मान्दछन् । सुनको मूल्य यसरी वृद्धि हुँदै जाने हो भने सर्वसाधारण थप समस्यामा पर्ने निश्चित छ । बजारको चर्को मूल्य नियन्त्रण गर्न ब्याजदर बढाएका विश्वका केन्द्रीय बैंकहरूले सुनको माग बढाएपछि यसको मूल्य बढ्न सहयोग गरेको पाइन्छ ।
अहिलेको विश्व आर्थिक मन्दीको अवस्थामा सुनको मूल्य बढ्नुले खासै अर्थ नराखे पनि विवाह जस्ता संस्कृतिका लागि आवश्यक पर्ने भएकाले उपभोक्ता थप मारमा परेका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुई हजार सात सय डलर पुग्ने अनुमान व्यवसायीले गरेका छन् । त्यतिबेला नेपाली बजारमा सुनको मूल्य एक लाख ६५ हजार पुग्न सक्ने उनीहरूको भनाइ छ । अर्कोतर्फ, चालु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएकाले पनि सुनको भाउ महँगीएको हो । जसको प्रत्यक्ष असर आमउपभोक्तामा परेको छ । निरन्तर मूल्य बढ्न थालेपछि उपभोक्तामा नयाँ गहना किन्ने सामथ्र्य हराउँदै छ । बरु भएका पुराना गहना बेच्ने ग्राहकको भिड लाग्न थालेको देखिएको छ । सुनको मूल्य बढ्दै जाँदा यसप्रति सबैको चासो बढ्दै गएको प्रस्ट हुन्छ । सुनप्रति संसारका अधिकांश मानिसको धार्मिक तथा सांस्कृतिक आस्था छ । यही आस्थाका कारण परम्परागत शासकहरूले कागजी मुद्राको आविष्कार गरेर संसारमा आफ्नो प्रभुत्व जमाउन सफल भएका हुन् । अहिले यही संवेदनशीलताको उपयोग गरेर सुनलाई सुरक्षित लगानी भन्दै मानिसहरूलाई झुक्याइएको छ । यसले मानव तथा वित्तीय साधनको उत्पादकत्व घटाउने र आर्थिक अपराध बढाउनेबाहेक अर्थतन्त्रमा कुनै पनि सकारात्मक सहयोग गर्न सकेको छैन । यस्ता क्रियाकलापलाई नियन्त्रण गर्दै सुनलाई वास्तविकताका आधारमा मात्रै चल्न दिने हो भने यसको अस्वाभाविक मूल्यवृद्धि रोकिनेछ र विश्वअर्थतन्त्रमा यसले सृजना गर्ने दुष्परिणामबाट पनि बच्न सकिनेछ ।