Shittalpati
रामपुरका विद्यालयलाई प्याडसहित डिस्पोजल मेसिन

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरुमा सेनिटरी प्याडसहित डिस्पोजल मेसिन वितरण गरिएको छ । नगरपालिकाले यहाँका २४ विद्यालयलाई सेनेटरी प्याड र अन्य आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको हो ।

यहाँका १८ मावि र ६ वटा आधारभूत विद्यालयलाई सेनिटरी प्याड वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ११ हजार ६२ प्याकेट सेनिटरी प्याड र १८ वटा नष्ट गर्ने मेसिन वितरण गरेको हो । नेपाल सरकारको सशर्त अनुदान सेनिटरी प्याड व्यवस्थापन कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने १ हजार ७ सय ५६ जना विद्यार्थीहरुलाई पुग्ने नगरपालिकाले सेनिटरी प्याड वितरण गरेको छ । नगर उप्रमुख बालकुमारी थापाले प्याड वितरण गर्दै विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारीको समयमा सहज होस् भन्ने उद्देश्यले सेनिटरी प्याड वितरण गरिएको बताईन् ।

उनले विगतका वर्षदेखि नै सेनिटरी प्याड वितरण गर्दै आएको र उक्त वितरण गरेको सेनिटरी प्याडको प्रयोग पश्चात व्यवस्थापनमा समस्या हुँदै आएकाले यस वर्ष नष्ट गर्ने मेसिन समेत वितरण गरिएको बताइन् । सेनिटरी प्याड नभई नहुने भए पनि यसको प्रयोग पश्चात सहज व्यवस्थापनका लागि डिस्पोजल मेसिन महत्वपूर्ण हुने उपप्रमुख थापाले विश्वास व्यक्त गरिन् । सशर्त अनुदान कार्यक्रम अन्तर्गत अहिले पहिलो चरणमा माध्यमिक विद्यालयहरुलाई १/१ वटा डिस्पोजल मेसिन सहित र अन्य आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए । आगामी दिनमा अन्य विद्यालयलाई पनि डिस्पोजल मेसिन प्रदान गरिने उनको भनाई छ । विद्यालयको आवश्यकता र माग अनुसार यस वर्ष सेनिटरी प्याड नष्ट गर्नका लागि डिस्पोजल मेसिन वितरण गरेको  अधिकृत काफ्लेले बताए ।

सेनिटरी प्याडले छात्राहरुलाई धेरै राहत मिलेको र प्रयोग पश्चात व्यवस्थापनमा समस्या हुने गरेकोमा डिस्पोजल मेसिन पाए पछि व्यवस्थापन गर्न सहज हुने दरैठाँटी माध्यमिक विद्यालयका प्राधानाध्यापक सुन्दर प्रसाद देवकोटाले बताए । नेपाल सरकारको २० लाख रुपैयाँ अनुदानमार्फत डिस्पोजल मेसिन र सेनिटरी प्याड वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update