राष्ट्रिय भू–संरक्षण दिवस आज हो । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन तथा भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न, पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको हो । विभागको स्थापनासँगै जिल्लास्तरमा भू–संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । भू–तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू–संरक्षण दिवस’ का रूपमा मनाउने गरिएको हो । तर हरेक वर्ष कार्यक्रम गरेर दिवस मनाउने गरिए पनि त्यसले सार्थकता प्राप्त गर्न सकेको छैन । वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा छ । संवेदनशील भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या व्यहोर्नुपरेको छ । पहिरो र भू–स्खलनबाट नेपालका पहाडी तथा हिमाली क्षेत्रहरूले बर्सेनि ठूलो धनजनको क्षति भोगिरहेका छन् । तर हरेक वर्ष दिवसका दिन गरिने औपचारिक कार्यक्रमले कुनै सार्थकता पाउन सकिरहेको छैन् । यो अत्यन्त दुखको कुरा हो ।
बाढीपहिरो, भूक्षयजस्ता प्राकृतिकरुपमा देखा पर्ने विपत्हरुका कारण देशका प्रायःजसो भू–भाग निकै संवेदनशील मानिएका छन् । भू–क्षयकै कारण हाल जमिनको उर्वराशक्तिमा समेत ठूलो ह्रास देखा पर्दै गएको छ । प्रकृतिको पारिस्थितिक सन्तुलनलाई जोगाउनका लागि समेत अहिले भू–संरक्षणको महत्व र भूमिका सर्वाधिकरुपमा बढ्दै गएको छ, तर सरकारी तवरबाट भने यसको कुनै पनि चासो देखाइएको छैन । जिल्ला–जिल्लामा भू–संरक्षणका लागि काम गर्ने निकायहरुको स्थापना भएको देखिए पनि त्यसबाट प्राप्त सेवाप्रवाह भने चित्तबुझ्दो छैन । भू–संरक्षणका लागि नै भनेर २०७५ सालदेखि नीतिगत निर्माण कार्यान्वयनमा नआएको होइन, तर भू–संरक्षणमा देखिएको लापरवाही देशमा वृद्धि हुने क्रमले गति लिँदा त्यस्तो नीति सही ढङ्गले लागू हुन नसकेको प्रस्टै छ । यसर्थ भू–संरक्षणमा भएको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके मात्र यो दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने निश्चित छ ।