पाल्पा, २०८१ साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरलायन्स दुर्घटनाको १५ दिन नबित्दै फेरि नेपाली अकासमा अर्को ठूलो हवाई दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइनको हेलिकप्टर बुधबार दिउँसो शिवपुरी–७ सूर्यचौर डाँडामा दुर्घटनामा परेको हो ।
बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलटसहित पाँच जनाको ज्यान गएको छ । जसमा चार चिनियाँ नागरिक पनि रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका छन् । ज्यान गुमाएका चिनियाँ नागरिक तीन दिनअघि मात्रै नेपाल आएको पाइएको छ । साउन २१ गते सोमबार विहान ९ बजे उनीहरू स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका थिए । बहुप्रवेशसी भिसामा नेपाल आएका उनीहरूले तेस्रो दिनमै ज्यान गुमएका हुन् । एयर डाइनेस्टीको ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर विदेशी नै लिएर काठमाडौं फर्किने तालिका रहेको थियो । दुर्घटनाको कारणबारे पत्ता लागेको छैन । १५ दिन अघि मात्र विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उडेको केही क्षणमै असन्तुलित भएर सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा परी १८ जनाको निधन भएको थियो । पछिल्लो समयमा नेपाली आकाश असुरक्षित बन्दै गएको भन्दै अन्तर्राष्ट्रिय जगतमै आलोचना भइरहेको छ ।
हवाई दुर्घटनाको विषयलाई लिएर संसदमा समेत प्रश्न उठिरहेको छ । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले प्रभावकारी ढंगले काम नगर्दा हवाई दुर्घटना बढेको संसदमा प्रश्न उठेको छ । यसभन्दा अघि २०७९ माघ १ गते पोखरामा यतीको जहाज दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो । पछिल्लो एक दशकको मात्रै रेकर्ड हेर्ने हो विभिन्न कम्पनीका जहाजले आन्तरिक उडानका क्रममा बेहोरेको दुर्घटना, हेलिकोप्टर दुर्घटना र बाह्य देशबाट नेपाल आउँदा बेहोरेका मानवीय क्षतिसहितको दुर्घटनाको सूची दुई दर्जन बराबर छन् । हवाई यात्रालाई विश्वभर सुरक्षित मानिने भए पनि नेपालको अवस्था भने ठीकविपरीत रहेको दुर्घटनाको तथ्यांकले बताउँछ । तर सरकारले दुर्घटना न्यूनिकरणतर्फ ध्यान दिएको पाइँदैन । बरु दुर्घटना भएपिच्छे आयोग गठन गर्ने र झारा टार्ने गरेको छ । यसले पनि ऊ सुधारको बाध्यकारी बाटोमा हिँड्न चाहिरहेको छैन भन्ने नै देखिन्छ । परिणामतः दुर्घटना भइरहने, दुःखमनाउ गरिरहने, आयोग गठन गरिरहने तर हवाई क्षेत्रका कमजोरी सुधारको ठोस पहलचाहिँ नहुने प्रवृत्ति पुनरावृत्त भइरहेको छ ।