Shittalpati
रम्भादेवीमा सांस्कृतिक महोत्सव हुने

पाल्पा, जिल्लाको रम्भा गाउँपालिका–५, ताँहुको ऐतिहासिक धार्मिकस्थल रम्भादेवी मन्दिरस्थित नाचनडाँडामा भव्य सांस्कृतिक महोत्सव हुने भएको छ । सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सह–आयोजनामा आगामी भदौ १० गते कृष्ण जन्माष्टमीको दिन महोत्सव हुन लागेको हो ।

महोत्सवमा स्थानीय मौलिक कला संस्कृतिसँगै चर्चित तथा लोकप्रिय राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने  छ । स्थानीय कला संस्कृतिको संरक्षणसँगै पर्यटकीय स्थललाई थप चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको महोत्सवका संयोजक तथा वरिष्ठ कलाकार दुर्गा रायमाझीले बताए ।  उनले रम्भदेवीप्रति आस्था राख्ने देश तथा विदेशमा रहेका सबैलाई महोत्सवमा सहभागी हुन अनुरोध गरे । महोत्सवका लागि जिल्लाका दशवटै स्थानीय तह र जनप्रतिनिधिहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।  विगतमा धार्मिक मेला, महोत्सव हुँदै आए पनि अहिले भने विस्तारै कम हुँदै गएका छन् । सुन सान बन्दै गएको पर्यकटीयस्थलाई थप गुुञ्जार बनाउन महोत्सव हुन लागेको हो ।

रम्भादेवी क्षेत्र सरकारले घोषणा गरेको १०० गन्तव्यस्थल मध्यको एक हो । यस क्षेत्रको आस्थाको केन्द्रको रुपमा रहेको रम्भादेवी मन्दिर रहेको ठाउँलाई रम्भा पानी पनि भन्ने गरिन्छ । त्रेता युगमा भगवान् राम र सिता मुक्तिनाथको यात्रा गर्ने क्रममा रामपुर हुँदै राम्दी जाँदा त्यही जङगलमा आईपुग्दा सितालाई पानी प्यास लागेको र पानी खोज्दा कतै नभेटेपछि रामले वाणले हानेर पानी उत्पन्न गरेको हुनाले रामवाण पानी, रामवाण पानी भन्दा भन्दै रम्भापानी रहन गएको हो भन्ने किंवदन्ती छ । रम्भादेवीको भाकल गरेमा मागेको वा चिताएको पुग्छ भन्ने विश्वासले भाकल गर्ने र भाकल पुरा भएपछि भाकल गरे अनुसार भेटी, फूलपाती, अक्षता, ध्वजा, लिंगा, रोट वा पञ्चवली दिने चलन रही आएको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update