Shittalpati
नाग पञ्चमीको महत्व

साउन शुक्ल पञ्चमीका दिन आज नागस्थानमा पुजा अर्चना गर्दै हिन्दु धर्मावलम्वीले नाग पञ्चमी पर्व मनाउँदैछन् । आजका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ । गाईको दूध, दुबो, जल चढाएर धूपधुवार गर्दै नागको पुजा गर्ने प्रचलन छ । नाग अंकित चित्र घरको मुल ढोकामा टाँस्नाले चट्याङ, आगो र सर्पको डर नहुने धार्मिक मान्यता रहेको छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्क, पद्म, महापद्म गरी आठ नागको विशेष महत्व रहेको वर्णित छ ।

नाग रिसाए पानीका मुहान सुक्ने र पानीको हाहाकार हुने मान्यताका आधारमा पनि नागलाई खुसी पार्न पूजा गर्ने शास्त्रीय परम्परा रहिआएको हो । नागपञ्चमीको दिनमा नागको मूर्तिहरूमा दूध र दहीले स्नान गराउने र अर्पण गर्ने चलन छ । सर्पलाई गहनास्वरूप प्रयोग गर्ने शिवको ऋषेश्वर स्वरूपलाई पनि यसै दिन स्मरण र पूजन गरिन्छ । घरभित्र सर्प नपसुन् भनेर मूलढोकाको माथिल्लो भागमा अष्टनाग र कालियदमन चित्र टाँसिन्छ । हरेक घरको जगमा नागको बास हुने र नाग रिसाए घरको जग नै भासिन्छ वा भत्कन्छ भन्ने मान्यता छ । त्यस्तै, पातालमा नाग देवताको बसोबास हुने र नागपञ्चमीका दिन भूमि खन्दा नागलाई कष्ट हुने भएकाले यस दिन हलो जोत्नु वा घरको जग राख्नु शुभ हुँदैन भन्ने मान्यता समेत रहेको छ । हिन्दु धर्मावलम्बीहरुले नागलाई देवताको रुपमा विशेष महत्व दिन्छन् । नाग देवता धर्तीमा बस्छन् भन्ने मान्यताले गर्दा धर्ती खनजोत गर्दा नाग देवतालाई चोट पुग्ने भएकाले नाग पञ्चमीको दिन धर्तीमा खनजोत गरिदैन । नाग र मानिसको सम्बन्ध परापूर्वकालदेखि नै कुनै न कुनै रुप र स्वरुपमा रहिआएको पाइन्छ । यसर्थ नागलाई देवता मान्ने धर्मावलम्बीहरुले धार्मिक आस्था र विश्वासको रुपमा यस पर्वलाई भव्यताका साथ मनाउने गर्दछन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update