गुल्मी, जिल्लामा रहेको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभूमी रेसुङ्गामा श्रीमद्वभागवत पुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा साउन २६ देखी ३२ गतेसम्म महायज्ञ हुने भएको हो ।
समितिले पत्रकार सम्मेलन गरी महायज्ञ सञ्चालनका बारेमा जानकारी गाएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको महिमा विस्तार गर्न महायज्ञ सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष सुरेसचन्द्र भुसालले बताए । उनले भने ‘रेसुङ्गा र भारतको अयोध्याबीच रहेको पौराणिक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै भारतीय धार्मिक व्यक्तित्व तथा पर्यटकलाई रेसुङ्गामा ल्याउन महायज्ञ गर्न लागेका हौं ।’ महायज्ञको पुर्व सन्ध्यामा साउन २५ गते तम्घास वजारमा र्यालीसहित परिक्रम गरिने कार्यक्रम रहेको समितिका सचिव गोपाल पन्थीले वताए । महायज्ञमा प्रमुख कथा वाचकका रुपमा मठ जोगिनी बाडा बिकानेर राजस्थान भारतका योगी शम्भुनाथजी महाराज रहेका छन् ।
समितिले गत वर्ष भारतका चार सय साधुसन्त ल्याई सन्त सम्मेलन गरेको थियो । रेसुङ्गाको संरक्षणका लागि यहाँ बेला–बेलामा महायज्ञ सञ्चालन हुँदै आएका छन् । समाजमा सकारात्मक सोचको विकासका लागि यस्ता किसिमका महायज्ञ आयोजना गरिएको समितिले जनाएको छ । रेसुङ्गालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि र धार्मिक पर्यटक भित्राउन संरक्षण समिति निरन्तर लागिरहेको समितिका सहसचिव यजप्रसाद शर्मा पन्थीले बताए । अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्विक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्वद्र्धन र प्रचार–प्रसारको काम भइरहेको छ । रेसुङ्गा क्षेत्रमा धेरै पर्यटक भित्र्याउने उद्देश्यले रेसुङ्गा नगरपालिकाले ‘जाउँ हिंड रेसुङ्गा’ अभियान पनि सञ्चालन गरिरहेहको छ । त्रेता युगमा रेसुङ्गा क्षेत्रमा ऋषि शृङ्गले तपस्या गरेका थिए । अयोध्याका राजा दशरथलाई सन्तान नभएपछि रेसुङ्गा धाममा तपश्वी शृङ्गऋषिलाई अयोध्या बोलाएर पुत्रेष्टि महायज्ञ गरेरमा सन्तान हुन्छन् भन्ने राजा दशरथका गुरु ऋषिहरुको सल्लाह अनुसार ऋषि शृङ्गबाट पुत्रेष्टि महायज्ञ गराइएको कथा वेद पुराणहरुमा उल्लेख छ । यज्ञका प्रभावले दशरथका छोरा राम, लक्ष्मण, भरत र शत्रुधन जन्मेको त्रेता युगको कथा पुराणहरुमा उल्लेख छ । यहि मान्यताका आधारमा रेसुङ्गा धार्मिक हिसाबले निकै महत्वपूर्ण क्षेत्र मानिदै आएको हो । यहाँ विभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् ।