Shittalpati
कागजका नाग टाँसिँदै, साँच्चैका मासिँदै

पाल्पा, आज श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी । हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबरसहित नागको पूजा अर्चना गरी मनाउँदै छन् । नागपञ्चमीको दिन बिहानै उठी स्नान गरी दिप, कलश, गणेशको पूजा गरी ढोकामा नाग टाँस्नाले वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने विश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास गरिन्छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्क गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । यस दिन घरका ढोकामा कागजका नागका तस्बिर टाँसेर पूजा गर्ने प्रचलन छ । तर वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको साँच्चीकैका (नाग) सर्प पछिल्लो समयमा भने मासिँदै गइरहेका छन् । नाग पुज्दै आएको हाम्रो समाजमा सर्प देख्नेबित्तिकै मार्ने चलन अझै छ । जसका कारण सर्पहरु जमिनबाट नासिदै छन् । मानवीय कारण नै सर्प लोपोन्मुख बन्दै गएको अनुसन्धानकर्ताले बताएका छन् । ‘सर्पले टोक्नेबित्तिकै मानिस मर्छ भन्ने परम्परागत धारणा मानिसमा छ,’ सर्प र भ्यागुताको अध्ययन गर्दै आएका गुल्मीका विष्णु अधिकारीले भने, ‘यसले टोकेर मानिस मरिहाल्दैन । असावधानी अपनाउँदा र झारफुकमा लाग्दा जोखिम बढी हुन्छ ।’ त्यसमाथि सबै सर्प विषालु पनि नहुने भएकाले सावधानी अपनाउँदा र चाँडै अस्पताल पुग्दा विषालु सर्पले टोके पनि मानिसको ज्यान बच्ने उनले बताए ।

सर्प मांसाहारी घस्रने प्रजातिमा पर्छ । लामो शरीर हुन्छ । खुट्टा हुँदैन । शुरुमा मान्छे देख्दा सर्प भाग्न खोज्छ । मानिसलाई कहिल्यै पनि सर्पले आक्रमण गर्दैन । आत्मरक्षाका लागि मात्रै सर्पले आक्रमण गर्ने गरेको अधिकारीले बताए । अधिकारीले सर्प पनि नाग नै भएकाले यिनीहरूलाई जोगाउनुपर्नेमा जोड दिन्छन् । उनी भन्छन् ‘सर्प पनि नाग नै हुन् । यी प्रकृतिका लागि आवश्यक र पूजा गर्न लायक छन् । यस्तो सन्देश हाम्रा पूर्वजले पहिल्यैदेखि दिएका हुन् ।’  सर्प त मानिसको शत्रु नभई मित्र हुन् । सर्पको विषले औषधि बन्छ । मुसा खाएर किसानको बाली संरक्षणमा समेत सर्पले सहयोग पुर्‍याउने तथा पारिस्थितिक चक्रमा ठूलो भूमिका खेल्छ । विश्वभर पाइने ४ हजार ५ सय प्रजातिका सर्प मध्ये ८२ प्रजाति नेपालमा पाइने गर्दछन् । नागलाई सहकालको देवताका रूपमा मानिन्छ । नाग रिसाए पानीका मुहान सुक्ने र पानीको हाहाकार हुने मान्यताका आधारमा पनि नागलाई खुसी पार्न पूजा गर्ने शास्त्रीय परम्परा रहिआएको हो । यसै आधारमा हरेक घरको जगमा नागको बास हुने र नाग रिसाए घरको जग नै भासिन्छ वा भत्कन्छ भन्ने मान्यता छ । त्यस्तै, पातालमा नाग देवताको बसोबास हुने र नागपञ्चमीका दिन भूमि खन्दा नागलाई कष्ट हुने भएकाले यस दिन हलो जोत्नु वा घरको जग राख्नु शुभ हुँदैन भन्ने मान्यता रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update