मथुरा ढकाल
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
हाम्रो दिमागमा नाग भन्ने बित्तिकै ठूला, डरलाग्दा डसालु र बिषालु सर्पहरुको बिम्बहरु हुन् । त्यही डरहरुबाट छुट्कारा पाउन श्रावण शुक्ल पञ्चमीमा अष्टनाग (अनन्त, बासुकी, पद्म( पिङ्गल), महापद्म, तक्षक, कुलीर, कर्कट र शंख) को तस्बिर ढोका माथि तस्बिर टाँस्ने गर्छौ र सोही दिन पूजा आराधना गर्ने गरिन्छ । नेपालमा लिच्छवि र नेवारमा नागपुजाको प्रचलन छ । अन्य समुदायमा अलिकति भए पनि त्यो नेवार संस्कृति कै प्रभाव हो । नेपाल र भारतमा जो जसले नागको पुजा गर्दछन्, ती सबै नागबंशी हुन् । नेपालको सन्दर्भमा बैसालीबाट आएका लिच्छविर सिमरौनगढबाट काठमाडौं आएका नेवार समुदाय नै नागबंशी हुन् ।
नागबंशी को हुन् त ?
रामायणमा रामले लक्ष्मणलाई शेषावतार भनेका छन् भने गीतामा कृष्णले आफूलाई नागहरुको नाग शेषनाग हुँ भनेका छन् । विभिन्न पुराणहरुमा नागहरुसँग आर्य देवताहरुको लडाई भएको र नागहरु माथि विजय प्राप्त गरेपछि मात्र उनीहरूलाई वसमा पारेको उल्लेख छ । के त्यसो भए अष्टनाग भनेका डरलाग्दा विषालु सर्पहरु हुन् त ? वास्तवमा अष्टनागहरु कुनै डरलाग्दा र विषालु सर्प होईनन् । उनीहरु नागबंशका अष्टकुलका राजाहरु हुन् । नागबंशीहरु टोटेमवादी थिए । कबिलाई युगमा सबै गणहरुको आ– आफ्ना टोटेम(गण प्रतीक)हरु हुन्थे ! टोटेमहरु पशु, पंक्षि, माटो, ढुङ्गा आदि । तिनीहरू त्यसैलाई बंश समेत मान्थे । सूर्य वंश, चन्द्रवंश, अग्नीवंश, मौर्य( मयुर) नाग( सर्प) वंश आदि ।
अष्टनाग नागबंशी राजाहरु थिए । शेष (अनन्त) नाग सबैभन्दा शक्तिशाली राजा थिए । उनले मध्यप्रदेशको विदिसाबाट शासन गरेका थिए । उनको शासनकाल (इपु ११०–९०) थियो । उनको वास्तविक नाम शेषदत्ता नाग थियो । उनको ५ पुस्तासम्मले बिदिसाबाट शासन ( इपु ४० सम्म) शासन गरेका थिए । उनको शासनको पुरातात्विक प्रमाणका रुपमा मुद्राहरु फेला परेका छन् । टोटेमवादी नागबंशीहरुले पछि बौद्ध धर्म अपनाएका थिए । नागबंशी राजा तक्षकको नाममा तक्षशिला विश्वविद्यालय स्थापना भएको थियो । उक्त विश्वविद्यालय नष्ट गरेपछि नागवंशको इतिहास पनि मरियामेट भयो । सबै नाग राजाहरुको बारेमा यहाँ उल्लेख सम्भव भएन । पुराणहरुले वास्तविक राजाहरुलाई राक्षस वा यस्तै डरलाग्दा जनावर वा सर्प भनेर उल्लेख गरेको पाइन्छ । अवास्तबिक पात्रहरूलाई देवताको रुपमा व्याख्या गरेको पाईन्छ । हामीहरूले पुराण र इतिहासलाई तुलानात्मक अध्ययन गरेर मात्र सत्यको नजिक पुग्न सकिन्छ । इतिहास खोतल्दा नाग वंशीहरु महायानी बौद्धमार्गी हु्न । ऋषि ब्रम्हा नाग बंशी थिए । ब्रम्हाका छोरा कश्यप र कश्यपका छोरा अनन्त, बासुकी र तक्षक हुन् । यीनै नाग बंशीहरुको नामबाट नालन्दा र तक्षक बिश्वबिद्यालय स्थापना गरिएको हो । नागबंश/नाग जाती कुनै सर्प होईनन्, सर्पलाई टोटेम मान्ने एउटा मानव बंश हो ।
नागपञ्चमीको दिनमा ब्रह्माणहरू हातमा नागको चित्र अंकित फोटो लिएर यजमानका घर–घर पुग्छन् । एउटा गाउँको ब्राह्मण अर्को गाउँको यजमान कहाँ नाग टाँस्न पुग्ने भएकाले गाउँघरमा वर्षाको समयमा घटित घटनाका बारेमा खबरको आदान–प्रदान हुने गर्दछ । यसरी नागपञ्चमीलाई वैज्ञानिक पक्षबाट अध्ययन गर्दा विशेष महत्व रहेको पाइन्छ । यस्ता सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी राष्ट्र, राष्ट्रियताको पहिचान फैलाउनु सबैको दायित्व र कर्तव्य हो ।
(लेखक धार्मिक तथा सांस्कृतिक क्षेत्रमा रुची राख्ने र नेकपा माओवादी केन्द्र पाल्पाका सचिव समेत हुन् ।)