Shittalpati
बगनासकाली गाउँपालिकामा आर्थिक अनियमितता : भत्ता, भ्रमण र मनोरञ्जनमै मनलागी खर्च  

पाल्पा,  पाल्पाको बगनासकाली गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९/०८० को प्रतिवेदनअनुसार सरकारी बजेट खर्च गर्दा स्थानीय तहले अपनाउनुपर्ने वित्तीय अनुशासनको बेवास्ता गरी उसले सरकारी रकम जथाभावी दुरुपयोग गरेको पाइएको हो । 

गाउँपालिकाले  ९८ लाख ८८ हजार अनियमित रुपमा खर्च गरेको छ । जसलाई महालेखाले बेरुजुको रुपमा उल्लेख गरेको छ । पालिकाले तलव, भत्ता, भ्रमण र मनोरञ्जनमै मनलागी रकम खर्च गरेको पाइन्छ । उसले प्रकोप व्यवस्थापन कोषमा ३ लाख २६ हजार अनियमिता गरेको छ । प्रकोप व्यवस्थापन कार्यक्रमबाट प्रकोप नियन्त्रण तथा प्रकोपबाट पीडितलाई राहत उपलब्ध गराउनुपर्नेमा दुई जना कर्मचारीका लागि तलव भत्तामा उक्त रकम पालिकाले खर्चेको हो । पालिकाले महिला लक्षित कार्यक्रम भन्दै  अनुत्पादक क्षेत्रका मनोरञ्जनका कार्यक्रममा ६ लाख ८० हजार खर्च गरेको छ । जसमा दर खाने कार्यक्रम, तिज गित प्रतियोगिता र एकल महिलाहरुको अवलोकन भ्रमणका लागि मात्र ५ लाख ८९ हजार खर्च गरेको हो । बाँकी रकम मात्र जुत्ता, चप्पल तालिममा खर्चेको छ । महिलाहरुको सशक्तिकरणका लागि तालिम, सिपविकास र आयआर्जनका क्षेत्रमा खर्च गर्नुपर्नेमा कुल खर्चको १३ प्रतिशत मात्र तालिममा खर्च गरिएको देखिन्छ । 

स्थानीय सरकार सञ्चान ऐन २०७४ को दफा ८३ (८) मा प्रहरी, सवारी चालक, बगैंचे, पलम्वर लगायतका पद तथा सेवामा बाहेक करारमा नियुक्त गर्ने व्यवस्था छैन तर पालिकाले भने इञ्जिनियर, सव इञ्जिनियर, पशु/कृषि प्राविधिक सहित २४ कर्मचारी करारमा नियुक्त गरी १ करोड ३४ लाख २७ हजार खर्च गरेको छ । उसले यी बाहेक स्वीकृत दरबन्दी बाहिरका सहायक कम्प्युटर, कार्यालय सहायक समेतका पदमा १० जना कर्मचारी नियुक्त गरी ३७ लाख १० हजार तलव भत्तामा खर्च गरेको छ । अन्य पालिकाले जस्तै बगनासकालीले सामाजिक सुरक्षा भत्ता वितरण गर्न वडामा खटिने कर्मचारीलाई  दैनिक  भत्ता बापत १० हजार २ सय र  सवारी साधान भाडाबापत २४ हजार भुक्तानी दिएको पाइन्छ ।  यस्तै पालिकाले  पदाधिकारी र कर्मचारीलाई योजना अनुगमन भत्ताबापत २ लाख ४८ हजार, अवलोकन भ्रमणमा १० लाख, सवारी भाडामा १ लाख ९५ हजार, कर्मचारीको भिल्ड भत्ता २ लाख ९७ हजार मनपरी खर्च गरेको पाइन्छ ।  

 


 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update