Shittalpati
किन बारम्बार भइरहन्छन् हवाई दुर्घटना ?

काठमाडौंमा भएको सौर्य एयरलायन्स दुर्घटनाको १५ दिन नबित्दै फेरि नेपाली अकासमा अर्को ठूलो हवाई दुर्घटना भयो । काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइनको हेलिकप्टर बुधबार शिवपुरी–७ सूर्यचौर डाँडामा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भयो । यो दुर्घटनाले मुलुकको नागरिक उड्डयन क्षेत्रका कमजोरीलाई पुनः उजागर गरेको छ ।

१५ दिन अघि साउन ९ गते मात्र विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उडेको केही क्षणमै असन्तुलित भएर सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा परी १८ जनाको निधन भएको थियो । यसरी ‘शृंखलाबद्ध’ हवाई दुर्घटनाले नेपालको हवाई सेवा माथि प्रश्न उठाएको छ । हवाई दुर्घटना न्यूनीकरण हुनुको सट्टा बढ्दै गएपछि मुलुकको हवाई क्षेत्रमाथि प्रश्न उठ्नु स्वभाविक नै हो । पछिल्लो समय नेपाली आकाश असुरक्षित बन्दै गएको भन्दै अन्तर्राष्ट्रिय जगतमै आलोचना भइरहेको छ । यसो हुनु राम्रो होइन । हवाई दुर्घटनाको विषयलाई लिएर संसदमा समेत प्रश्न उठिरहेको छ । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले प्रभावकारी ढंगले काम नगर्दा दुर्घटना बढेको बन्दै सर्वत्र आलोचना भएको छ ।

विज्ञहरूले समेत मानवीय त्रुटि, भौगोलिक बनावट, प्रतिकूल मौसम, पर्याप्त सूचनाको कमी, पुराना जहाजमा आधुनिक उपकरणको जडान नहुनु हवाई दुर्घटनाका मुख्य कारण भएको बताउँदै आएका छन् । तर यस विषयमा न त सरकारले प्रभावकारी अनुगमन गर्छ, न त विज्ञहरूका सुझाव कार्यान्वयनमा निजी हवाई कम्पनी नै अघि सर्छन् । नेपाल हरेक पटक हुने जहाज दुर्घटनापिच्छे जाँच गर्न ‘दुर्घटना जाँचबुझ आयोग’ गठन हुन्छन् । आयोगले दुर्घटना हुनुका कारणसहित यस्ता दुर्घटना हुन नदिन कसले के गर्ने ? के नगर्ने ? भन्नेसम्मका सुझाव संगालेर प्रतिवेदन दिन्छ । तर यस्ता प्रतिवेदनको सुझाव न सरकारले पढ्छ, न कार्यान्वयनका लागि तत्परता देखाउँछ । परिणामतः दुर्घटना भइरहने, दुःखमनाउ गरिरहने, आयोग गठन गरिरहने तर हवाई क्षेत्रका कमजोरी सुधारको ठोस पहलचाहिँ नहुने प्रवृत्ति पुनरावृत्त भइरहेको छ । तसर्थ नेपालमा रहेको विद्यमान हवाई संरचनामा जेजस्तो मानवीय, भौगोलिक, प्राविधिक, व्यावसायिक तथा व्यवस्थापकीय त्रुटि तथा कमी—कमजोरीहरू छन्, त्यसलाई अन्र्तराष्ट्रिय हवाई क्षेत्रका विज्ञको प्रत्यक्ष निगरानी तथा मार्गदर्शनमा उडान क्षेत्रका अनुभवी, प्रशिक्षित तथा सक्षम व्यक्तिहरूद्वारा सूक्ष्म अध्ययन, विश्लेषण तथा परीक्षण गराई उडान सुरक्षा मार्गचित्र तयार पार्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update