ऋषिमुनीहरूको तपोभूमि नेपाल, शान्तिका अग्रदूत महामानव गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी प्रदेश, कालीगण्डकीले सुशोभित भूस्वर्ग रुरु क्षेत्र पाल्पा जिल्लाको सदरमुकाम तानसेन हो ।
ऐतिहासिक, धार्मिक एवं पर्यटकीयस्थल तानसेन नेपालको पुरानो शहर हो । करुवा र ढाका उत्पादनको लागि यो शहर नेपालमै सुप्रसिद्ध रहेको छ । पूर्व सोभियत संघबाट स्वतन्त्र राष्ट्रको रूपमा स्थापित उजवेकिस्तानको राजधानी शहर तासकन्द हो । जहाँ भारत पाकिस्तानविच युद्ध विराम (१९६६) घोषणा भएको थियो । यी दुई शहरलाई नामाङ्कित गर्दै लेखक रामचन्द्रमान सिंहले संस्मरण कृति ‘तानसेन देखि तासकन्दसम्म’ प्रस्तुत गर्नुभएको छ । स्व. कविराज दशरथमान सिंह मेरो बाजे पुस्ता, लेखक रामचन्द्रमान सिंह मेरो बुवा पुस्ताको आदरणीय व्यक्तित्वलाई सादर प्रणाम गरी कृतित्वको आधारमा मात्र म यस संस्मरणका लागि केही लेख्न गइरहेको छु ।
काठमाडौंबाट पोखरा हुँदै तानसेनमा बसोबास (१८९०) गर्दै आउनुभएका बुद्धिनर सिंह, जितमान सिंह, इन्द्रमान सिंह हुँदै चौथो पुस्ताका दशरथमान सिंह (१९७६–२०७४) पाल्पा तानसेन, बसन्तपुरमा इन्द्र औषधालय (२००३) सञ्चालन गरी व्यापार भन्दा पनि विरामीको सेवालाई उच्च प्राथमिकता दिदैं विकट गाउँवस्तीहरूमा समेत पैदल पुगी स्वास्थ्य सेवामा समर्पित स्वास्थ्य शताब्दी पुरुष हुनुहुन्थ्यो । पश्चिम नेपालकै लोकप्रिय ऐतिहासिक पात्र कविराज दशरथमान सिंहका सुयोग्य माइला सुपुत्र रामचन्द्रमान सिंह हुनुहुन्छ । नेपालको भाइ पाल्पा र काठमाडौंको भाइ तानसेन भनि इतिहास प्रसिद्ध छ । आधुनिक नेपालको पश्चिमी आधा हिस्सा सेनवंशीय राजाहरूको गौरवशाली पाल्पा राज्यको सहयोगमै एकीकरण भएको थियो भने पाल्पा, गौडाकालीन समयमा समेत नेपालको निर्णायक शक्तिको रूपमा रहेको थियो । पाल्पा गौंडाको बुटवल (जितगढी) मा नेपाली/गोर्खाली/पाल्पाली सेनाले अंग्रेजलाई परास्त गरेको यस समर भुमि पाल्पाले थुप्रै सपूतहरू जन्माएको छ । मुलुकको राजनीति, प्रशासनिक एवं विविध क्षेत्रमा पाल्पालीहरूको पहुँच नेतृत्वदायी एवं निर्णायक रहेको छ । मन्त्रीपरिषद्का अध्यक्ष, प्रधानन्यायधिस, मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गर्भनर, राजदरबारको सचिव, मुख्य सचिव, नेपाल सरकारको सचिव, सचिव लगायतका पदहरूमा पाल्पाली सुपुत्रहरूले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको सत्य तथ्य सार्वजनिक भइरहेका छन् । पाल्पाली सुपुत्र रामचन्द्रमान सिंह नेपाल सरकारको सचिव समेत भइ हाल सेवा निवृत्त राष्ट्रसेवक हुनुहुन्छ । उहाँले आफ्नो कार्यसम्पादनको सिलसिलामा तानसेन–पाल्पा–नेपाललाई विश्वका विभिन्न मुलुकहरूमा प्रतिनिधित्व गराउन सफल हुनुभएको छ ।
राष्ट्रियस्तरमै चर्चित व्यक्तित्वहरूको संस्मरण, आत्मकथा, जीवनी, स्मृति लगायतका कृतिहरू प्रकाशित भइसकेको अवस्थामा पाल्पासँग सरोकार राख्ने पाल्पाली व्यक्तित्वहरूको समेत यस्तै प्रकृतिका कृतिहरू प्रकाशित हुँदै आएका छन् । कुलमणि देवकोटा, भुयुमान लिगल, गणेशमान सैंजु, दशरथमुनि शाक्य, दशरथमान सिंह आदिको स्मृति ग्रन्थ लेखिएको छ भने छविलाल नेपाल, शुभ श्रेष्ठ, राधा भारती, भगवती मास्टर आदिको संक्षिप्त जीवनी प्रकाशित भएको छ । केशवलाल कसजु, अजम्बरध्वज खाती, डा. रामप्रसाद शर्मा ज्ञवाली, प्रा.डा. बेणिमाधव ढकाल आदिको व्यक्तित्वपरक कृतिहरू प्रकाशित भएका छन् । कमलराज रेग्मी, ब्रह्मशेखर बज्राचार्य, प्रकाश प्रधानाङ्ग, देवेन्द्रराज शाक्य आदिद्वारा जीवनका अनुभूति आत्मकथा नै लेखिएका छन् । अयोध्याप्रसाद प्रधानको नेपाल भाषामा व्यक्तित्व र कृतित्व परक कृति लेखिएको छ । रवीन्द्रप्रसाद प्रधानद्वारा लिखित पाल्पाली प्रधानहरूको अंकथित बंशीय इतिवृत ‘द यात्रा’ अनुसन्धानात्मक ग्रन्थ प्रकाशित भएको छ । डा. मोहनमाथ सैंजुले अलग धारमा रहेर आत्मकथ्य लेखेता पनि कृतिलाई संस्मरण भनिएको छ । कविराज दशरथमान सिंहद्वारा ‘त्यो समय त्यो परिवेश : मेरो जीवन यात्राको संस्मरण’ लेखिएको छ भने, उहाँकै सुपुत्र रामचन्द्रमान सिंहद्वारा संस्मरण ‘तानसेनदेखि तासकन्दसम्म’ लेखिएको छ । ‘तानसेनदेखि तासकन्दसम्म’लाई लामा छोटा परिच्छेदभित्र सात खण्डमा संस्मरण गरिएको छ । पहिलो खण्डमा जन्मथलो र वरपरका सम्झनाहरू रहेका छन् । बुवा दशरथ र आमा मिथिलाको गर्भबाट रामनवमीको दिन जन्मिएकोले रामचन्द्रमान सिंह नाम रहेको, आमाले दिएको दश रुपैंया, आजसम्म पनि खर्च नभएको, खराब संगतमा झण्डै नफसिएको, पेट्रोमेक्स (मैन्टोल) बाल्ने र घण्टाकर्ण (गाँठेमंगल) को डोरी टाँग्ने गरेको, तानसेनको जात्रा मेलामा मनोरञ्जन गरेको, अप्रिल फुलमा विवाह भोज खान गएको, अनुशासनको नाममा शिक्षकले अस्वभाविक रूपमा पिटेको, पीडादायी यादहरू सम्झिएको, बाबु साहेबले मागेको पाँच रुपैँया र एक मोहरको औषधिजस्ता बाल्यकालका रोचक घट्नाहरू सस्मरणमा रहेका छन् ।
सेठहरूले खोलेको पद्य पब्लिक हाइस्कूल र जनताको मुष्ठिदानबाट सञ्चालित जनता स्कूलले यस क्षेत्रमा शिक्षाको व्यापीकरण गर्दै गयो । अमेरिकी पिसकोर भोलिन्टियर भिक्की म्याडेमले जनता स्कूलमा खिचेको दुर्लभ रंगीन फोटो पचास वर्षपछि अमेरिका जाँदा देखियो । पाल्पा, तानसेन भाषा, कला, संस्कृति, साहित्य र संगीतको उर्वर भूमि हो । स्वर सम्राट नारायण गोपाल, वरिष्ठ गायक प्रेमध्वज प्रधान, गायिका कमला श्रेष्ठ तानसेन आएको, नारायण गोपालले मन गौचन र प्रेमध्वज प्रधानले सविता प्रधानसँग युगल गीत गाएर स्थानीय प्रतिभालाई प्रोत्साहन दिएको सम्झँदै लक्ष्मी उदय र उषा खातीको नृत्यहरू, गंगाप्रसाद बैंजु र लाले जोकरको कलाकारितालाई स्मरण गरिनुका साथै डम्बरे र चाउरेको रोचक र घोचक प्रसङ्गहरूको समेत उठान गरिएका छन् । प्रताप शमसेरले तानसेनमा सार्वजनिक खानेपानीको व्यवस्थापन गरेता पनि घर–घरमा धारा थिएन । ‘घरमा धारा आएत म नाँच्थेँ’ आमाले भन्नुभएको यो सत्य कथन अहिलेसम्म पनि तानसेनको घर–घरमा गृहणीहरूले भन्दै आएका छन् ।
आज पनि तानसेनमा पानीको दुःख छ । दोस्रो खण्डमा तानसेन हुँदाको महत्वपूर्ण यात्रा संस्मरण गरिएको छ । गाडीबाट पहिलोपटक बुटवल जाँदा र गोरखपुरमा पहिलो पटक रेल चढ्दाको खुशीयालीहरू प्रकट गरिएका छन् । अँध्यारोमा पहिलोपटक रानीघाट गएको सम्झना गरिएको छ । पाल्पा गौंडाका तैनाथवाला खड्ग शमशेरले प्रिय रानी तेज कुमारीको स्मृतिमा कालीगण्डकी उत्तरवाहिनी भएर बहेको स्थानमा कलाकौशलको बेजोड नमुनाले भरिपूर्ण रानीघाट दरवार निर्माण गरेका हुन् । यस दरवारको आफ्नै ऐतिहासिक, धार्मिक, मौलिक पहिचान भएता पनि लह्डीहरूले भारतको ताजमहलसँग जोडेर ‘नेपालको ताजमहल’ भन्दै आएका छन् । रानीघाट–रानीमहलको चर्चा धेरैले गरेता पनि बैकुण्ठ पहाडको झरनाको पानीलाई पहाड काटेर रानीमहल पुर्याइएको इतिहास कमैलाई मात्र थाहा छ । लेखकले संस्मरणमा बैंकुण्ठ पहाड र रानीमहलको प्रसङ्ग जोडेर इतिहासलाई व्यापीकरण गर्नुभएको छ । विशाल पाल्पा राज्यका निर्माता मणिमुकुन्द सेन प्रथम (१५५५–१६२२) को पालामा पाल्पा राज्यभित्र बराहक्षेत्र, रुरु क्षेत्र, मुक्ति क्षेत्र र हरिहर क्षेत्र गरी चारवटै अलौकिक धार्मिक क्षेत्रहरू परेका थिए । अहिले रूरू क्षेत्र पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थलको रूपमा रहेको छ । माघे संक्रान्तिमा रीडिमा ठूलो मेला लाग्दछ । लेखक दश–एघार वर्षको उमेरमा भाइसँगै झरीमा रुझ्दै हिंडेर रुरु क्षेत्र (रिडी) पुगेको स्मरण गरिएको छ । काठमाडौं आएपछिका सस्मंरणहरू तेस्रो खण्डमा रहेका छन् । पचाँस वर्षअघि काठमाडौंमा महंगी नभएको त्यो बेला र यो बेलाको काठमाडौंको चर्चा गर्नुका साथै कलेज भर्ना र विद्यार्थी जीवनका तीतामीठा सम्झनाहरू उजागर गरिएका छन् । ‘हरेराम हरेकृष्ण’ हिन्दी फिल्मको सुटिङमा चर्चित भारतीय सिने नायक ‘देवानन्द’लाई काठमाडौंमा भेटेको, रञ्जना सिनेमा हलमा फिल्म हेरिरहँदा राजा महेन्द्र स्वर्गीय भएको खबरले विचैमा फिल्म बन्द भएको र पैसा फिर्ता पाएको, राजा वीरेन्द्रको शुभराज्यभिषेक नजिकबाट हेरेको र त्यो अद्भूत समारोहको दृश्यलाई एक साथीद्वारा पेरिसको सुन्दरतासँग तुलना गरिएको संस्मरण गरिएको छ । संस्मरणको चौथो खण्डमा विशेषतः नेपालको सुदुरपश्चिम कर्णाली क्षेत्र जुम्ला, कालीकोट–कोटवाडा, ग्रामीण परिवेशको अनुभवहरू संक्षेपिकृत गरिएका छन् । स्वं सेवा होस् या सरकारी सेवा होस् आजपनि प्रायः व्यक्ति सुगम क्षेत्रमा नै जान चाहन्छन् । तर तात्कालिन समयमा पनि लेखकले दुर्गममा परेको साथीलाई सुगममा पारी आफु दुर्गम क्षेत्रमा गएको संस्मरण उल्लेख गर्नुभएको छ । जुन कार्य निकै नै उदाहरणीय एवं प्रसंसनीय रहेको छ । लेखकले आजभन्दा ४५ वर्ष अघि (२०३२) नेपालगञ्ज, जुम्लाहुँदै कालिकोटको कोटवाडा पुगेर राष्ट्रिय विकास सेवामार्फत मुलुकको सेवारम्भ गर्नुभएको छ ।
आङसिरिङ्ग हुने तुइनको यात्रा, सुखदुःखको स्मरण गरिनुका साथै जानीजानी आफू र साथीहरूले तल्ला जातिसँग पानी मागेर खाएर छुवाछुत विरुद्धको अभियानमा सकारात्मक सोंच राखिएको छ । कोतवाडामा कक्षा ३ देखि ७ सम्म सञ्चालित नन्दादेवी निम्न माध्यमिक विद्यालय, एसएलसी अनुत्तीर्ण प्रधानाध्यापक, विद्यार्थी, शिक्षक, सिकाई, क्रियाकलाप, ग्रामीण परिवेश, आदिको सम्झना गरिएको छ । धेरैपछि सहसचिव भएको बेला कोटवाडाका विद्यार्थीहरू लेखकलाई खोज्दै आएको र द्वन्द्वकालीन कहालीलाग्दो घट्नाक्रमहरू सुन्दा मन मुटु मष्तिष्क स्तब्ध भएको कुरा उल्लेख गरिएको छ । लेखकपछि कालीकोटको मान्मा पुगेता पनि कार्यस्थल कोतवाडा पुग्ने धोको अधुरै रहेको छ । जागिरे जीवनको संस्मरण पाँचौ खण्डमा गरिएको छ । वनस्पति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेपछि पृथ्वी नारायण क्याम्पस पोखराबाट शुभारम्भ गरेको जागिरे जीवन शाखा अधिकृत उत्तीर्ण (२०३७) गरी लोक सेवा आयोगको कार्यालय कमलपोखरीमा पदस्थापन भएसँगै निजामती सेवातर्फ मोडियो । नेपाल सरकारको गरिमामय सचिव पदमा पुगी सेवा निवृत्त भएको अवस्थासम्मलाई संस्मरण गरिएको छ ।
वैदेशिक भ्रमणमका संस्मरणहरू छैठौं खण्डमा संग्रृहित रहेका छन् । बेलायत जाँदाको पहिलो भ्रमण रोचक र तनावपूर्ण रहेको छ । किनकी लेखकले एक अपरिचित जेष्ठ महिलालाई उनका सन्ततीहरूसँग भेट गराउन साथमा लिएर जानुभएको छ । बैंकक एयरपोर्टमा सामान चोरिएको घटनाले नेपालमा मात्र होइन विकसित मुलुकमा पनि चोरीको विगविगी रहने कुरा जानकारीमा आएको छ । कर्मचारीको एक सानो गल्तीले सुविधा सम्पन्न एयरपोर्टमा पनि यात्रीहरू कसरी विचल्लीमा पर्छन् र लफडा शुरु हुन्छ भन्ने कुरा जोहन्सवर्ग विमानस्थलमा लेखक स्वयंम अलपत्र पर्दा थाहा लागेको छ । आफ्नै असावधानीले गर्दा ह्युस्टन जाँदा प्लेन छुट्यो र निकै झन्झट बेहोर्नु पर्यो । तर काउन्टरवालाले सोही पैसामा अर्को प्लेनको टिकट मिलाइदिएको प्रसङ्गले अमेरिकामा नागरिकप्रतिको उत्तरदायित्व बोध र प्रभावकारी व्यवस्थापनको उदाहरण दिएको छ । नेपालको प्रतिनिधित्व गरी तासकन्द जाँदा आफ्नो टेबुलमा नेपालको झण्डा चारकुने राखिएकोमा खबर गर्दा शीघ्र तीनकुने झण्डा फेरिएको रोचक सन्दर्भहरू जोडिएका छन् । थाइल्याण्डमा सेनाद्वारा सत्ता कब्जा गरिँदा लेखक त्यहीँ रहेको, वैदेशिक यात्रामा शाकाहारी रहँदा पेटभरी खान नपाएको, उजवेकिस्तानमा खाजा खाँदा प्लेटमा घोडाको मासु देखेपछि पेट होँडलिएको, जेनेभा शहरमा इसाई धर्मावलम्बीको अन्त्येष्टीमा सहभागी हुँदाको हृदय विदारक दृश्यहरू वर्णन गरिएका छन् ।
श्रीलंकाली राष्ट्रपतिसँग रात्री भोजमा सरिक भएको, भारतको गणतन्त्र दिवसमा सहभागी भएको, श्री सत्यसाइ बाबासँग साक्षात्कार दर्शनभेट पाउँदाको अपूर्व क्षणलाई संस्मरण गरिएको छ । राजदरवार हत्याकाण्ड भएको एक हप्तापछि पनि लेखक दिल्ली, श्रीलंका हुँदै माल्दिभ्स पुग्दा समेत सारा विश्वको ध्यानाकर्षण नेपालमै रहेको दुःखद प्रस·हरू समेत समेटिएका छन् । अन्तिम सातौं खण्डमा लेखकका व्यक्तिगत एवम् पारिवारिक स्मरणहरू रहेका छन् । इन्द्र औषधालयमा हुलाकबाट गोरखापत्र आउँथ्यो । पत्रपत्रिकाहरूको स्वाध्ययनले लेखकलाई वाल्यावस्थादेखि नै केही लेख्ने रहर जगायो । युवा अवस्थामा गोरखापत्रमा दिइएको लेख मधुपर्कमा छापियो । नेपाली तथा अंग्रेजीमा लेख लेख्ने र प्रकाशन गर्ने क्रम बढ्दै गयो ।
बुवाले जीवनमा एकपटक मात्र संयम गुमाएर भाईलाई दुई थप्पड हानेको, विवाहपछिको पहिलो रमाइलो दशैं, हजुर बुवा हुन पाउँदाको अपूर्व खुसी, २०७२ को महाभूकम्प, आफ्नो उपलब्धिप्रति पूर्णत खुसी रहेको बुवालाई काखमा राखेर विदा गरेको अन्तिम श्रद्धाञ्जली स्मृति गरिएको छ । अमेरिकामा आफ्नी छोरी र नर्वेली ज्वाइँसंगको अन्तरदेशीय विवाहको रोचक प्रसङ्ग, स्व. बुवाको स्मृति ग्रन्थको सम्पादन, ममतामयी माता स्वर्गारोहण हुँदा भोग्नुपरेका पीडाहरू, विश्वव्यापी प्रभावको रूपमा देखापरेको कोभिड–१९ (कोरोना कहर) को त्रासदीभित्र तनाव र आशंकालाई निरुत्साहित गर्दै पृथ्वीमा नातीनी रुवीको स्वस्थ सुरक्षित अवतरणसँगै संस्मरणको समापन भएको छ ।
प्राप्तः स्मरणीय पिता कविराज स्व. दशरथमान सिंह र ममतामयी माता स्व. मिथिलादेवी सिंहमा सादर समर्पण गरिएको संस्मरण लेखकको जीवनको आत्मानुभूति भएता पनि सबैभन्दा महत्वपूर्ण विशेषता कृति प्रशंसा, आत्म–प्रशंसाबाट मुक्त रहेको छ । लेखकीय शब्द शक्तिहरू अविधा शैलीमा सुपाच्य, सहज र सरल भाषामा अभिव्यक्त भएका छन् । लेखाइमा वक्रोक्ती नभई सरलोक्ती रहेको छ । संस्मरण खहरेजस्तो नभई नदीजस्तै बहेको छ । राजनीतिक टीकाटिप्पणी एवम् कुनै पनि आक्षेप कटाक्ष प्रहार गरिएको छैन । जीवनका भोगाइ, अनुभवहरू सम्झनाको आधारमा जस्ताको तस्तै लेखिएकोले शब्द चयन र वाक्य गठनमा अतिसयोक्ती छैन् । जीवन यात्रामा संगालिएका थुप्रै अनुभूति र संस्मरणहरू हुन्छन् । तीन दशकसम्म राष्ट्रसेवक कर्मचारीको हैसियतले कार्यसम्पादन गर्दाका अनुभवहरूका साथै अन्य भोगाइ तथा अनुभवहरू यसमा समेटिएका छैनन् । लेखकले यस कृति मार्फत जीवनको पहिलो–पहिलो अविस्मरणीय पल, भोगाई तथा अनुभवहरूलाई मात्र संस्मरणको रूपमा सम्बोधन गर्नुभएको छ । यसर्थ ‘तानसेन देखि तासकन्दसम्म’ संस्मरण विशुद्ध अनुभवजन्य, स्वस्थ, स्वच्छ एवम् पृथक कृतिको रूपमा रहेको छ । नेपाली वृहत शब्दकोश अनुसार,–आफ्नो सम्बन्धमा आफैले लेखेको वा भनिएको कथा, आफैले बनाएको आफ्नै वृतान्त, आफ्नै जीवन चरित्र, आत्मचरित्रलाई आत्मकथा भनिन्छ । यसैगरी बारबार सम्झनामा आउने वितेका दिनको कुरो, मीठो प्रकारको सम्झना, मधुर स्मृति, नामजपाई, संस्मृति, पुरानो घट्ना, वस्तु महत्त्व आदिलाई ताजा राख्न आवश्यक पर्ने महत्वपूर्ण कुराको उल्लेख, कथन वा रचनालाई संस्मरण भनिएको छ भने सहित हुनाको भाव, गुण वा अवस्था, साथ रहेको स्थितिलाई साहित्य भनिएको छ ।
अर्थात् शब्द र अर्थको विचमा उचित सहभाव हुनु नै साहित्य हो । यसर्थ प्रस्तुत कृतिलाई संस्मरण साहित्य भन्नु नै उपयुक्त हुनेछ । पाल्पा, तानसेन बसन्तपुरमा जन्मिएर मुलुकको सचिव पदमा पुगी राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमै पहिचान बनाउन सफल व्यक्तित्व रामचन्द्रमान सिंहद्वारा करिब छ दशकको अन्तराललाई संस्मरणको रूपमा प्रस्तुत गरिएको यो कृति राष्ट्रसेवकहरूका लागि मननीय, लेखक साहित्यकारहरूका लागि विचारमूलक महनीय, पाठकहरूका लागि जानकारी एवम् सूचनामूलक पठनीय रहेकोले कृति स्मरणीय, विलोकनीय एवम् संग्रहणीय रहेको छ । ‘छ दशकको सहयात्रामा दशरथ–मिथिला’ (२०६५), ‘त्यो समय त्यो परिवेश–मेरो जीवन यात्राको संस्मरण’ (२०७३) र ‘शताब्दी पुरुष कविराज दशरथमान सिंह स्मृतिग्रन्थ’ (२०७५) को उत्कृष्ट सम्पादन गरिसक्नुभएका आदरणीय लेखक रामचन्द्रमान सिंहको प्रस्तुत कृति संस्मरण साहित्यको रूपमा ऐतिहासिक दस्तावेज बन्न सक्नेछ भन्ने विश्वास लिएको छु । लेखकीय सफलताको शुभकामना !
(लेखक पाल्पा साहित्य समाजका अध्यक्ष तथा पाल्पाका स्थापित साहित्यकार समेत हुन् ।)