ज्योतिषी मुकुन्द पोखरेल
हाम्रो वैदिक ज्योतिष अन्तर्गत पञ्चाङ्ग (तिथि, वार, योग, नक्षत्र र करण) मा तिथिको महत्व विशेष रहेको छ । चन्द्रमाको आधारमा गणना गरिने मितिलाई नै तिथि भनिन्छ । एउटा सूर्योदयबाट अर्को सूर्योदयसम्मको जून समय हुन्छ त्यसलाई अहोरात्र भन्ने गरिन्छ, त्यसैलाई तिथि मानिन्छ । यसै तिथि कै आधारमा सबै प्रकारको मुहूर्त (साइत) निकाल्ने गरिन्छ ।
हाम्रो वैदिक शास्त्रमा चन्द्रमाको गति अनुसार २९.५ दिनको एक चन्द्रमास हुन्छ र यो चन्द्रमास अर्थात् महिनालाई लगभग १५/१५ दिनको दुई भागमा विभाजन गरिएको हुन्छ, जसलाई कृष्णपक्ष र शुक्लपक्ष भनिन्छ । क्षीण चन्द्रमा जब बढ्न थाल्छ, तब शुक्लपक्षको तिथि र जुन दिनबाट चन्द्रमा घट्न थाल्छ, तब कृष्णपक्ष प्रारम्भ हुन्छ ।
शुक्लपक्षको तिथिमा प्रतिपदाबाट सुरु भएर द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी र पूर्णिमासम्म हुनेछ भने कृष्णपक्षमा प्रतिपदाबाट प्रारम्भ भएर द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी र औँशी सम्मको हुनेछ । अतः समग्रमा तिथिहरूको नाम १६ हुन्छ, जसको महत्व यसरी बुझ्न सकिन्छ ।
तिथीस्वामिज्ञानम्
प्रतिपदाका अग्नी
द्वितीयाका ब्रह्मा
तृतीयाकी देवी
चतुर्थीका गणेश
पञ्चमीका सर्प
षष्ठीका स्वामिकार्तिक
सष्तमीका सुर्य
अष्टमीका ईश
नवमीका दुर्गा
दशमीका यम
एकादशीका विश्वेदेव
द्वादशीका विष्णु
त्रयोदशीका कामदेव
चतुर्दशीका शिव
पूर्णिमाका चन्द्रमा
अमावस्याका स्वामी पितृ ।
माथी प्रतिपदादेखी अमावस्या तिथिसम्मका तिथि स्वामीहरूको वर्ण गरिएको छ ।