Shittalpati
बंगलादेशको घटनाबाट पाठ सिकौं

बंगलादेशमा भएको घटनाले यति बेला विश्वको ध्यान खिचेको छ । लगातार १५ वर्ष बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले गत सोमबार सत्तासँगै देश छाड्नुपरेको घटना यति बेला सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । लोकतन्त्रकी सेनानीको रुपमा छवि बनाएको व्यक्तिले एकाएक सत्ता र देश छोड्नुले पनि स्वभाविक रुपमा चासो हुनुलाई अन्यथा लिनु हुँदैन ।

सरकारी जागिरमा कायम आरक्षणको विषयमा असन्तुष्टि जनाउँदै विद्यार्थीले आन्दोलन गरेका थिए । त्यो आन्दोलनको वेवास्तका कारण नै हसिनाले सत्ता र देश छोड्नु परेको कुरा नकार्न सकिदैन । हुन त विद्यार्थी आन्दोलन एक अंश मात्र हो त्यो भन्दा पनि उनको निरंकुशताको असन्तुष्टिका अनेकौं छिद्रा घटनाको कारण हो । आफूलाई प्राप्त विश्वासको सम्मान गर्न नसक्दा हसिनाले दुखद् घटना व्यहोर्नु परेको कुरा कसैले नकार्न सक्दैन । १५ वर्षदेखि एकछत्र राज गरेकी हसिनाले विद्यार्थी आन्दोलनलाई सम्बोधन गर्नुको साटो दमन गर्दा देश छाड्ने परिस्थिति सिर्जना भएको हो । विशेषतः हसिनाको निरंकुश र तानाशाही शासन र देशमा बढ्दो भ्रष्टाचार, बेरोजगारी र महँगीको परिणाम नै बंगलादेशको घटनालाई हेरिएको छ ।

जनमतको कदर नगर्दा शासनको पूर्णकार्यकाल बिताउन पाउनु त परै देशमै बस्न सक्ने अवस्था रहेन । लोकतन्त्र भनेको जनमतको कदर हो, मतादेशको आडमा जनमतको अपमान र दमन होइन भन्ने सन्देश बंगलादेशमा जारी जनविद्रोहले दिएको छ । विकास निर्माण र आर्थिक वृद्धिले मात्र नागरिक सन्तुष्ट नहुन सक्छन् । भ्रष्टाचार मौलाउने, मानिसले बोल्न लेख्न नपाउने जस्ता मूल्य, मान्यता कुल्चियो भने पार पाउने अवस्था नहुँदो रहेछ भन्ने पाठ अन्य देश र शासकहरुले पनि सिक्नुपर्छ । अर्को विषय भनेको एउटै व्यक्ति लामो समयसम्म सत्तामा रहनु उपयुक्त हुँदैन भन्ने बुझ्नुपर्छ । किनकी त्यसले तानाशाही प्रवृत्ति मौलाउने, दम्भ मौलाउने र सुशासनलाई ध्यान नदिने खालको प्रवृति देखा पर्छन् । निर्वाचित भएर शासनमा पुगे पनि जनताको आकांक्षा र असन्तुष्टिलाई बेवास्ता गर्ने, आफू र आफ्ना आसेपासेलाई अकुत र अवैध आम्दानीका निम्ति सहजीकरण गरिदिने, भ्रष्टाचार र कुशासन बढाउने गतिविधि गर्ने जो सुकै भए पनि एक दिन जनताबाटै लखेटिने छन् । तसर्थ बंगलादेशमा भएको घटनाक्रमबाट नेपाल र नेपालका राजनीतिक दल र नेतृत्व गर्नेहरुले समेत पाठ सिक्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update