Shittalpati
बैंकको नाफा ६४ अर्ब १५ करोड

पाल्पा, वाणिज्य बैंकहरूले एक आर्थिबक वर्षमा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो आर्थिक वर्ष ०८०/८१ मा २० वटा वाणिज्य बैंकले कमाएको खुद नाफा हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकहरूको नाफा औसत १३ दशमलव ४० प्रतिशतले बढेको बैंकहरूले प्रकाशन गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको यस्तो नाफा ५६ अर्ब ५७ करोड रुपैयाँ थियो ।

मुलकको अर्थतन्त्र सुस्त रहेको र निजी क्षेत्रमा जाने कर्जा प्रवाह पनि बढन नसकेको अवस्थामा बैंकहरुको नाफा नराम्रो देखिदैन । गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसको नाफा ७ अर्ब ६ करोड रुपैयाँ छ । यस्तै सबैभन्दा कम नाफा भने माछापुच्छ्रे बैंकको छ । यो बैंकले १ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ । कुनै पनि बैंकको नाफा एक अर्ब भन्दा तल छैन । गत वर्षमा कुल २० बैंकमध्ये १० बैंकको नाफा बढेको छ भने १० को घटेको छ । नाफा बढनुमा केही बैंकको मर्ज तथा एक्वीजिसनले सहयोग पुर्‍याएको छ । गत आर्थिक वर्षमा नबिल, नेपाल एसबीआई, कुमारी, प्राइम, हिमालयन, लक्ष्मी सनराइज, कृषि विकास, एभरेस्ट, प्रभु र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नाफा बढाएका छन् । बाँकी माछापुच्छ्रे, सिटिजन्स, एनआईसी एसिया, नेपाल बैंक, एनमएबी, सानिमा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आईएमई र राष्ट्रिय वाण्ज्यि बैंकको भने नाफा घटेको छ । सबै महिना बैंकहरू अधिक तरलताको अवस्थामा बस्नुपर्‍यो । निक्षेप मात्र बढ्ने तर कर्जा वृद्धि हुन नसक्दा बैंकहरूको लागत बढ्ने भएकाले नाफा प्रभावित हुन्छ । आर्थिक गतिविधि चलायमान बन्न नसक्दा बैंकहरूले चाहेर पनि राम्रो व्यवसाय गर्न सकेनन् । बरु परिस्थितिजन्य कारणले ऋणीले भुक्तानी क्षमता नहुँदा बैंकलाई कर्जा असुलीमा समस्या भयो भने खराब कर्जा पनि बढ्यो । एकातिर खराब कर्जा बढ्यो अर्कोतिर कसिलो नियमनकारी व्यवस्थाका कारण अपेक्षित रुपमा ब्याज आम्दानी बढ्न सकेन । यसरी अर्थतन्त्रमा देखिएको शिथिलताको प्रत्यक्ष प्रभाव बैंकहरूको नाफामा परेको जानकार बताउँछन् ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update