Shittalpati
अभिभावक पढाउँदै बाल ज्योति

पाल्पा, केही अपवादबाहेक, अभिभावकहरुले आफ्नो बालबच्चालाई समय दिदैनन् । ग्रामीण र अशिक्षित समाजमा भन्दा सहरी र शिक्षित समाजमा यो समस्या बढ्दो छ ।

अचेल विद्यार्थीलाई सानै उमेरदेखि विद्यालयमै राखेर पढाउने चलन छ । व्यस्त दैनिकी र बालबच्चाहरूले दिने झन्झटबाट मुक्तिका लागि यो एक हिसाबले राम्रो पनि होला तर व्यावहारिक कोणबाट नियाल्दा त्यति उपयुक्त देखिँदैन् । बालबकालिकाको पहिलो पाठशाला घर हो । घरमा दिइने शिक्षा, दिक्षा र संस्कारले नै त्यो बच्चा असल र अनुशासित बन्दछ । त्यसका लागि अभिभावक शिक्षित, दीक्षित र प्रशिक्षित हुन आवश्यक छ । सो कुरालाई मध्यनजर गर्दै जिल्लाको तानसेन नगरपालिका–७ काजीपौवास्थित बाल ज्योति प्राथामिक विद्यालयले अभिभावकलाई ‘अभिभावक शिक्षा’ प्रदान गर्दै आएको छ ।

घरमा विद्यार्थीलाई पढ्नका लागि अनुकुल वातावरण बनाउने, छोराछोरीको शिक्षाप्रति अभिभावकको चासो र विद्यालयमा उपस्थिति बढाउने, अभिभावक र शिक्षक शिक्षिका तथा सरोकारवालाहरुको दुरी घटाउन विद्यालयले अभिभावकलाई बेला बेलामा पढाउँदै आएको पाइन्छ । विगतमा जस्तै विद्यालयले यस पटक पनि बालबालिकाका अभिभावकलाई विद्यालयमा बोलाएर सूचना र प्रविधिको बढ्दो प्रयोग, शिक्षा क्षेत्रमा भइरहेका परिवर्तन, समयको मागअनुसार बालबालिकाप्रति गर्नुपर्ने व्यवहार, बालबालिका र विद्यालयप्रति अभिभावकको दायित्व लगायतका विषयमा पढाएको छ । शैक्षिक गुणस्तर बढाउन र विद्यार्थीलाई अनुकुल वातावरण निर्माण गर्दै उनीहरूको सिकाइमा थप सहजीकरण गर्ने उद्देश्यले विद्यालयले ‘अभिभावक शिक्षा’ प्रदान गरेको जनाएको छ ।

तानसेन नगरपालिकाकी शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले ‘अभिभावक शिक्षा’ का बारेमा अभिभावकलाई पढाएकी हुन् । उनले बालबालिकाहरुको पहिलो पाठशाला घरपरिवार भएकाले आमाबाबुले उनीहरूलाई शारीरिक, संज्ञानात्मक, सामाजिक र भावनात्मक पक्षमा ध्यान दिनुपर्ने उल्लेख गरिन् । शिक्षा प्रमुख न्यौपानेले आफ्नो हेरचाहमा हुर्काउनुपर्ने, घरको आर्थिक अवस्थाका बारेमा बच्चालाई जानकारी दिनुपर्ने, घरमा सन्तुलित भोजन गराउनुपर्ने, बालबालिकाहरुको मनोभावना बुझेर काम गर्नुपर्ने जस्ता कुराहरु अभिभावकलाई सिकाएकी हुन् ।

प्रभावकारी अभिभावकत्वले बच्चाको व्यवहार, अनुशासन र समग्र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले त्यसतर्फ ध्यान दिन पनि उनले अभिभावकलाई आग्रह गरिन् । कार्यक्रमका प्रमुख अतिथि तानसेन–७ का वडा अध्यक्ष प्रदीप खनालले अभिभावक शिक्षाले बालबालिकाहरूलाई थप अनुशासित, पढाइमा अब्बल बन्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । अभिभावक शिक्षा अहिलेको आवश्यकता रहेको औल्याउँदै वडा अध्यक्ष खनालले अभिभावकहरू शिक्षित, दिक्षित वा प्रशिक्षित भएमा छोराछोरीहरूलाई उचित शिक्षा दिक्षा दिन र असल व्यबहार सिकाउन सक्ने बताए । अभिभावकहरूको राम्रो हेरचाह पाएका बालवालिकाहरूले खराब संगत र अपराधजन्य क्रियाकलापहरूबाट टाढा रहन सक्ने भएकाले बालबालिकाहरूको शिक्षा, दिक्षा तथा उचित दिशानिर्देश गर्नको लागि अभिभावकहरू सक्षम हुन आवश्यक रहेको उनले औल्याए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गम्भीरजंग रायमाझीले स्वस्थ सम्बन्ध, बाल सुरक्षा, भावनात्मक व्यवहार, बाबुआमा वा संरक्षकबाट हुने ‘रोल मोडलिङ’ लगायतका विषयमा अभिभावकहरूलाई जानकारी गराएर बालबालिकाहरूको सिकाइमा थप सहजीकरण गर्न अभिभावक शिक्षा प्रदान गरिएको बताए । 

अभिभावकले जस्तो व्यवहार गर्छन् त्यसैको सिको बालबालिकाले गर्ने भएकाले पनि अभिभावक शिक्षाको आवश्यकता बढेको उनको भनाइ छ । ‘बालबालिकाहरूले दिउँसोको समयमा त विद्यालयमा अध्ययन गरिरहेका हुन्छन् । तर बिहान, बेलुका वा विद्यालय बाहेकको समयका शिक्षक भनेका अभिभावक नै हुन्’, रायमाझीले भने, ‘हामी आफैँ धेरै समय सामाजिक सञ्जालमा समय बिताउँछौँ । अनि बच्चाले त्यही सिकेर सामाजिक सञ्जाल चलाउँछन् । तर हामी उनीहरूलाई नचलाऊ भन्दै आफै चलाउँछौँ । यस्ता धेरै विषय छन्, जुन अभिभावकबाट सुधार हुन आवश्यक छ ।’ अभिभावक र शिक्षकहरुकै कारण आफुहरुले बालज्योतिदेखि बूढानिलकण्ठसम्म विद्यार्थीहरु पुर्‍याउन सफल भएको उनले बताए । कार्यक्रममा सहभागी अभिभावकहरुले आफुहरुले छोराछोरीहरुहको शिक्षाका लागि धेरै कुराहरु सिक्ने अवसर पाएकोमा उत्साहित भएका थिए । उनीहरुले कार्यक्रममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने समेत बताए । विद्यालय अभिभावक संघकी अध्यक्ष दीपा थापाको अध्यक्षता, प्रअ विष्णुबहादुर थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।    

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update