Shittalpati
काँग्रेस नेता सिवाकोटीले भने ‘काँग्रेस–एमाले सरकारले नागरिकमा व्याप्त निराशा तोड्न सकेन भने आशाको सञ्चार कस्ले गर्ने ?’

पाल्पा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता अजयबाबु शिवाकोटीले काँग्रेस– एमाले सरकारले नागरिकमा व्याप्त निराशा तोड्नुपर्ने बताएका छन् । काँग्रेसको जारी केन्द्रीय कार्यसमिमित बैठकको चौथो दिन आइतबार सम्बोधन गर्दै उनले नागरिकमा आशा सञ्चार गर्नुपर्ने बेलामा निराश बनाउने छुट अहिलेको सरकारलाई नभएको भन्दै आशाको सञ्चार गराउनुपर्ने बताएका हुन् ।

नेता सिवाकोटीले काँग्रेस र एमालेको सहभागितामा बनेको यो सरकारले नागरिकमा व्याप्त निराशा तोड्न सकेन भने आशाको सञ्चार कस्ले गर्ने ? भन्दै प्रश्न समेत गरेका छन् । उनले शीर्ष नेताहरुको ध्यानाकर्षण गर्दै भने, ‘यो कटु तथ्यलाई नेतृत्व तहका सबै नेताहरुले पक्कै बुझ्नु भएकै छ ।’ उनले दुई फरक ध्रुवका र प्रतिष्पर्धी राजनीतिक दल एक विशिष्ट परिस्थितिमा सत्ताका सहयात्री हुनुपरेको उल्लेख गर्दै अब कसरी जीवित मुद्दाहरुलाई अगाडि बढाउने भन्ने प्रश्न खड्केको बताए । नेता सिवाकोटीले भने, ‘यो केन्द्रीय समितिमा रहेका हामी कान्छो पुस्ताले हिजो एक अर्काविरुद्ध गरिएका आरोप  प्रत्यारोपको के भनेर आज बचाउ गर्ने भेउ पाउन सकेको छैन । त्यसकारण पनि यही बैठकमा हिजो एक अर्का विरुद्ध गरिएका आरोप प्रत्यारोपको बारेमा प्रष्ट पार्नुपर्ने मत पनि आएको छ ।’ सरकारमा सँगै हुँदैमा आफ्नो धारणा त्याग गर्नुपर्छ भन्ने नभएको उल्लेख गर्दै नेता शिवाकोटीले भने, आज सरकारमासँगै आएका कारण मात्र हामीले हाम्रो धारणालाई त्याग गर्नुपर्छ भन्ने हो भने त्यो अरुले अरु नै कोणबाट उठाएर हाम्रै विरुद्ध प्रयोग गर्ने खतरालाई पनि नजरअन्दाज गर्नुहुन्न भन्ने मेरो मत छ ।’

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update