आज विश्वभर अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गरान यो दिवसको घोषण गरिएको हो ।
नेपालले सन् २००४ देखि यो दिवस मनाउन थालेको हो । संयुक्त राष्ट्र संघको घोषणा अनुसार युवाका मुद्दाहरूलाई स्थापित गर्नकै लागि यो दिवस मनाउने गरिएको छ । यो दिवस मनाउन लागेको पनि यतिका समय भइसक्यो तर युवाका सवाल र समस्या जस्ताका त्यस्तै छन् । युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा युवाका समस्या जहाँको त्यहीँ छन् । शिक्षा, स्वास्थ्य र रोजगारी नै युवाका मुख्य समस्या हुन् । रोजगार बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएपनि ती प्रभावकारी कार्यान्वयनका अभावले अलपत्र परेका छन् । मुलुकमा रोजगारी र स्वरोजगारमुखी कार्यक्रम नहुँदा लाखौं युवा विदेशिनु परेको छ । भन्न त युवालाई परिवर्तनका संवाहक, कहिल्यै नहार्ने, जोस जाँगरले भरिपूर्ण भनेर परिभाषित गरिन्छ । राष्ट्रको प्रमुख शक्तिको रूपमा लिइन्छ । हुन पनि देशको कुल जनसंख्यामध्ये झण्डै ३०–४० लाख संख्या युवाकै छ । तर राज्यको कुनै पनि अंगमा तिनको सन्तोषमूलक सहभागिता देख्न सकिँदैन । तिनका यथार्थपरक समस्याहरू खोजिनीति गरी अध्ययन, विश्लेषण र समस्या समाधान गर्ने गतिलो रणनीति राज्यसँग छैन् । बरु आन्दोलन, बन्द–हड्ताल गर्न, भौतिक संरचना तोडफोड गर्न अघि सारिन्छ । युवामा भएभरको क्षमता यस्तै खालका विध्वंसात्मक कार्यमा प्रयोग हुंँदै आएको छ । बौद्धिक तथा सकारात्मक क्रियाकलापहरूमा आफ्नो क्षमता प्रस्तुत गर्ने र ध्यान केन्द्रित गर्ने अवसर पाएका छैनन् । यो अत्यन्त दुखको कुरा हो । आजका युवा नै भोलिका राष्ट्रका कर्णधार हुन् । उनीहरूलाई उचित शिक्षा दिक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृद्धिमा सरिक गराउनु आजको आवश्यकता हो । यसतर्फ सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।