Shittalpati
पाल्पामा डेंगी संक्रमण बढ्दो

पाल्पा, जिल्लामा डेंगी संक्रमितको संख्या बढ्दोक्रममा रहेको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा दिनहुँ डेंगी संक्रमण बढ्दै गएको हो ।

आठ महिनाको अवधिमा जिल्लामा एक सय १५ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले बताए । उनका अनुसार यो तथ्याङ्क जनावरी १ देखि अगस्ट १० सम्मको हो । यो अवधिमा डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको डा.गिरीले बताए । जिल्लामा देखिएका डेंगी संक्रमण मध्ये ७० प्रतिशत पाल्पाका मात्र हुन् । बाँकी अन्य जिल्लाबाट उपचार गराउन आएका बिरामीमा देखिएको हो । पाल्पाका युनाइटेड मिसन अस्पताल, पाल्पा अस्तपाल, लुम्बिनी मेडिकल कलेज लगायतका अस्पतालमा आएका बिरामीमा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. गिरीले बताए । यी बाहेक कतिपय निजी मेडिकल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमासमेत डेंगीको परीक्षण हुन्छ । स्वास्थ्य कार्यालयले डेंगीे संक्रमितको संख्या बढ्दै गएपछि ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान र सचेतनालाई तिव्रता दिएको छ ।

जिल्लाका स्थानीय सरकारले समेत स्वास्थ्य कार्यालयसँगको समन्वयमा विभिन्न सचेतना मूलक कार्यक्रम गर्दै आएका छन् । पानीपर्ने र घाम लाग्ने हुँदा अझ बढी लामखुट्टे सक्रिय हुने भएकाले संक्रमण थप बढ्ने सम्भावना रहेको डा. गिरीले बताए । अझै केही समय अवस्था जटिल रहेकाले संक्रमणबाट बच्न डेंगुको रोकथामका उपाय अपनाउन उनले सबैलाई आग्रह गरेका छन् । लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, झुलभित्र मात्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न उनले सुझाएका छन् । त्यस्तै, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट, फुलदानी कुलर आदिको पानी कम्तीमा हप्तामा एक पटक फेर्न पनि उनले एनजेडीमार्फत सबैलाई अनुरोध गरे । पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न, साँझ र बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउनु पर्ने डा. गिरीको भनाई छ । उनका अनुसार डेंगु संक्रमण एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । एकासी उच्च ज्वरो आउने, मांसपेशी, टाउको तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वान्ता हुने डेंगु संक्रमणका प्रमुख लक्षण हुन् । चिकित्सकका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु रोगबाट बच्ने एक मात्र उपाय हो । एडिस लामखुट्टे विशेषतः बिहान र बेलुकी सूर्योदय र सूर्यास्त हुनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला संक्रमण बढी सार्छ । लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । लामखुट्टेको टोकाइबाट डेंगीबाहेक मलेरिया, औलो, चिकनगुनिया (डेंगीसँग मिल्दाजुल्दो) रोग पनि लाग्न सक्छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update