Shittalpati
आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसमविद् सरोज पुडासैनाले जानकारी दिए । उनीले भने, ‘आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।’ 

अहिले बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजको अधिकतम तापक्रम २७ देखि २९ डिग्री तथा न्यूनतम तापक्रम २१ दशमलव दुई डिग्री सेन्टिग्रेट रहेको छ । 

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पूडासैनीले बताए । कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update