Shittalpati
बढ्दो डेंगी संक्रमणप्रति सचेत हौं

पाल्पालगायत देशैभर डेंगी संक्रमण बढ्दो छ । घाम लाग्ने र पानी पर्ने भइरहेकाले यसको संक्रमण दिनहुँ बढ्दै गएको छ । पाल्पामा जनावरी १ यता एक सय १५ जनामा डेंगी संक्रमण देखिएको छ । यो संख्या अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ । बढ्दो संक्रमणले आमजनतामा अत्यास निम्त्याएको छ । कोरोना महामारीजस्तो आइसोलेसनमा बसेर निको नहुने यो डेंगीको महामारी बढी चिन्ताजनक पनि छ । डेंगी रोगको संक्रमण विस्तार हुँदै जाँदा यसले थप चिन्ता बढाएको छ । डेंगी बिरामी आफैंमा अत्तालिने, मुर्छा पर्ने र यो रोगका संकेत पनि गम्भीर प्रकृतिका देखा पर्ने भएकाले यसले प्रभावित गर्ने वातावरण सोचेभन्दा डरलाग्दो र अत्यासमय हुन्छ । डाक्टरले बिरामीलाई तपाईंलाई डेंगु भएको छ, यो वा त्यो गर्नुस् वा नगर्नुस् भनेर निर्देशन दिने र ढाडस दिने गरे पनि बिरामीमा रहने गरेको डरमा कमी भएको देखिँदैन ।

मनसुनसँगै लामखुट्टेको प्रजनन्का लागि अनुकूल अवस्था बन्न सक्ने र संक्रमितको संख्यासमेत बढ्न सक्ने हुन्छ । दिनहुँ डेंगी संक्रमितहरु बढ्दै गएपनि सुरक्षा सतर्कतामा भने ध्यान दिएको देखिँदैन । डेंगी हुन नदिन लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा ठूलो उपाय हो । यस अवस्थामा नागरिक स्वयं सचेत भई जनस्वास्थ्यप्रति ध्यान दिन आवश्यक छ । घरवरिपरि पानी जम्न नदिने, झाडी सफा गर्ने, पूरा बाहुला भएको कपडा लगाएर मात्र घरबाहिर हिँड्ने, झ्यालढोकामा जाली राख्ने, झुलभित्र सुत्ने गर्नाले पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । मनसुनको समयमा कहिले घाम त कहिले पानी हुँदा त्यसले पर्याप्त लामखुट्टेलाई बढाउन सक्ने कारणले अहिलेको समय डेंगीका लागि निकै नै जोखिमयुक्त मानिन्छ । अझै केही जोखिम कायमै रहने चिकित्सकहरुले बताएका छन् । अहिलेको अवस्थामा हेलचेक्र्याइँ गर्नुहुँदैन । त्यसले ज्यान पनि लिन सक्ने हुनाले उक्त अवस्था आउन नदिन स्वयम  व्यक्ति आफै सतर्क र सचेत हुनैपर्छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update