Shittalpati
कसरी चिन्ने विषालु च्याउ ?

गुल्मी,गुल्मीमा विषालुु च्याउ खाँदा एकै परिवारका ८ जना विरामी भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका– ८, खानीगाउँमा जंगली च्याउ खादा आठ जना बिरामी परेका हुन् । आइतबार साँझ विषालु च्याउ खाँदा रेसुङ्गा नगरपालिका–८ खानीगाउँका टोमबहादुर थापा श्रीसको परिवार बिरामी परेको बताइएको छ ।

विरामी हुनेहरुमा ६५ वर्षीय टोमबहादुर थापा, निजकी श्रीमती ६२ वर्षीय दिलकुमारी श्रीस, छोराहरु ३८ वर्षीय लक्ष्मण थापा, २९ वर्षीय विकास थापा, नातिनीहरु १० वर्षीय दिपदीका थापा, १२ वर्षीया विनिसा थापा, छोरीहरु ४२ वर्षीया सिर्जना काउछा र पाहुनाका रुपमा आएकी ३९ वर्षीया गीता थापा जंगली च्याउ खाएर बिरामी परेका हुन् । रेसुङ्गा सामुदायिक वनबाट ल्याएको च्याउ खाएका उनीहरू बिरामी परेका थिए । डल्ले च्याउ जस्तो देखिने जंगली च्याउ खादा उनीहरु बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । टोपबहादुर थापाका जेठो ज्वाइँ ओसन काउछाले च्याउ टिपेर ल्याएका थिए । उक्त च्याउ परिवार बसी पकाएर खाँदा बान्ता गरेका थिए । उनीहरुको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको हो । अहिले उनीहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्था सुुधार हुँदै गएको अस्पतालले जनाएको छ । हरेक वर्षाको समयमा जङगलबाट ल्याएको च्याउ खाँदा सर्वसाधारण नागरिक विरामी पर्नुका साथै अकालमै ज्यान समेत जाने गरेका समाचारहरु आउने गर्दछन् । वर्षा याममा चौर, पाखा, पखेरो, खोंचमा च्याउ उम्रन्छन् । यससँगै गाउँघरमा च्याउ टिप्न जाने गरिन्छ । तर, विषालु च्याउको पहिचान हुन नसक्दा जङगली च्याउ खाएर मान्छे मर्ने क्रम भने अझै पनि रोकिन सकेको छैन् । वर्षा याममा उम्रने सबै च्याउ मानवीय उपभोगका लागि लाभदायक हुँदैनन् । अझ कतिपय च्याउ त विषालु हुने हुँदा विचार गरेर मात्र खानुपर्ने विज्ञहरू बताउँछन् । जङगली च्याउमा पाइने मस्किमोल, आइबोटेनिक एसिड, इण्डोलिक एसिडले शरीरलाई हानि गर्ने चिकित्सक बताउँछन् ।

कसरी चिन्ने विषालु च्याउ ?
बाहिरी आवरण हेरेर मात्र च्याउ विषालु हो कि होइन भन्ने छुट्याउन सकिंदैन् । तैपनि विषालु च्याउको छाता खस्रो हुने र खान हुने च्याउको छाता छुँदा चिप्लो हुने विज्ञहरू बताउँछन् । जङगलमा उम्रिएको कुनै च्याउबाट नमीठो गन्ध आएको छ र त्यसमा झुसको मात्रा अत्यधिक छ भने त्यो च्याउ विषालु हुन्छ । च्याउबाट तीतो स्वादको गन्ध आएको छ  भने पनि त्यो विषालु हुन्छ । त्यस्तै, च्याउलाई भाँच्दा त्यसबाट चोप निस्कन्छ र हातले छुँदा त्यसको रङ फेरिन्छ भने पनि त्यस्तो च्याउ विषालु हुने गर्दछ । विषालु च्याउ झट्ट हेर्दा आकर्षक र सफा देखिन्छ । खानयोग्य च्याउको आयु छोटो हुने र केही दिनमै ओइलाउँछ । विषालु च्याउ भने धेरै दिनसम्म उस्तै रहिरहन्छ ।

विषालु च्याउ खाँदा देखिने लक्षण
विषालु च्याउ खाएपछि शरीरमा विभिन्न लक्षण देखिन्छन् । जस्तै– आँखाबाट आँसु आउने, मुखबाट  र्‍याल निस्कने, जिब्रो सुन्निने, बान्ता आउने, पखाला चल्ने, घाँटीमा खसखस हुने तथा सुन्निने, बेहोस हुने आदि । यसर्थ, विषालु च्याउ खाएर समस्या हुनासाथ अस्पताल लैजानुपर्छ । सम्भव भएमा विषालु जङगली च्याउ खाएको थाहा हुने बित्तिकै बान्ता गराउने र बिरामीलाई जतिसक्दो छिटो स्वास्थ केन्द्र लैजानुपर्ने चिकित्सक बताउँछन् । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update