नेपाली राजनीति र राजनेता प्रति आमनागरिकहरुको श्रध्दामा कमी आउँने क्रम बढी रहेको छ । फलस्वरुप अहिले मुलुकको अवस्थाका बिषयमा नयाँ पुस्तामा व्यापक नकारात्मक सोंचको बिकास भएको अनुभूति पनि भएको छ । एकातर्फ देशले असल नेता पाएन भन्नेहरुको चिन्ता बढी रहेको छ भने अर्को तर्फ सिंगो राजनैतिक क्षेत्र र बिषय प्रति युवापुस्ताको लगाव अत्यान्त्यै न्यून देखिन्छ ।
महिला शसक्तीकरण, शिक्षा, स्वास्थ्य र सचेतनाका बिषयमा भएका वुझाईहरुमा आएको परिवर्तन र गुणस्तर अनि सूचना र प्रविधिको बिकासको उत्कर्षणले पनि राजनीतिलाई कमजोर बनायो तर निर्णयाधिकार र कानून कार्यान्वयन गर्ने जिम्मा भने राजनैतिक वृतमै सिमित छ भन्ने कुरा बुझ्न यो समूहले अझै सम्म पनि सकेको देखिदैन । हरेक बिषय र विकासका बाटाहरु पहिल्याउँने कामको जिम्मेवारी दलीय संयन्त्र संगको समन्वय र निर्णयले निर्धारण गर्दछ भन्ने कुरालाई हामीले युवा पुस्तासम्म बुझाउँन नसक्नु पनि अर्को वाधक अवस्था हो । राम्रो सूचना र प्रविधिलाई राज्यले अवलम्वन गर्ने क्रममा संसदबाटै निर्णय गनुपर्छ । कानून निर्माण नहुदा सम्म शिक्षा, स्वास्थ्य र सूचनाका नयाँ प्रविधिको बिकासलाई अध्यापन र प्रयोग अनि उपयोग कही कतै पनि लागु गर्न सकिदैन् । त्यस कारण संसदमा पनि नयाँ पुस्ताको प्रवेशका लागि युवाहरु राजनीतिमा सक्रियताका साथ लाग्नु पर्छ भन्ने मुल्य र मान्यतालाई अंगिकार नगर्दा सम्म मुलुकको बिकास हुदैन भन्ने कुरालाई सर्वव्यापी नवनाए सम्म केही पनि गर्न सकिदैन भन्ने बुझाईलाई व्यापकता दिन नसक्नु र नयाँ पुस्तालाई क्रमशः नेतृत्व हस्तान्तरण गर्ने परिपाटीको बिकास गर्न नसक्नु नै सबै भन्दा ठुलो समस्या हो । त्यस कारण हरेक निर्णय र परिवर्तनमा राजनैतिक चरित्रले काम गर्छ, भन्ने बिषयलाई आम युवा वर्ग सम्म सिंचित गर्नु आजको आवश्यकता हो । यस विषयमा नेपालका सबै दलहरुले बुझनुपर्नेमा त्यसो गर्न सकेनन् कि भन्ने चिन्ताले अहिले सबैलाई सताई रहेको छ । सत्ता भनेको आउँने र जाने दुवै ढोका खुल्ला भएका अवस्थाहरु हुन् तर राज्य र राजनैतिक चरित्रको बिकासलाई स्थायित्वका कडीले वाध्नुपर्ने वेला आएको छ । हरेक क्षेत्रले राजनीति वुझनु जरुरी छ, अर्को तर्फ हरेक क्षेत्रमा राजनैतिक चिन्तनले मात्रै पनि काम गर्न सक्दैन्, भन्ने कुराको पनि ज्ञान जरुरी छ । राज्यका कानून निर्णय, व्यवहारिक सोंच र पारस्परिक अवस्था प्रति पनि राजनीति अछुतो रहन सक्दैन्, त्यस कारण राजनीति गर्नु, स्वार्थगत राजनीति नगर्नु, भन्ने मुल मर्म र भावनाको बिकास विना देशले असल नेतृत्व प्राप्त गर्न सक्दैन् र पुस्ता हस्तान्तरणको सम्भावना पनि रहदैन ।