Shittalpati
हराउँदै जनै बाट्ने संस्कृति, जोगाउँदै ब्राह्मण समाज
जनै बाट्न सिकाउँदै प्रशिक्षक, सिक्दै विद्यार्थी, महिला, पुरुषहरु । तस्बिर : जयराम सापकोटा

पाल्पा, हिन्दु परम्पराअनुसार जनैको धेरै महत्व छ । व्रतबन्धपछि होस् वा पूजामा जनै आवश्यक पर्छ नै । तागाधारीको पहिचान हो जनै । तर पछिल्लो समय तागाधारीहरु नै जनैको महत्वबारे अनविज्ञ बन्दै गएका छन् । जनैको महत्व पछिल्लो समय युवापुस्ताले नबुझ्दा संस्कृति समेत संकटमा पर्ने चिन्ता छ ।

जनतन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँपुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति नै हराउँदै जान थालेपछि ब्राह्मण समाज नेपाल पाल्पाले भने संरक्षणका लागि चासो देखाएको छ । समाजले तानसेन नगरपालिका –२ वडा कार्यालयको आर्थिक सहयोगमा तानसेन नगर भित्रका विद्यार्थी, महिला, पुरुषहरुलाई जनै बाट्ने परम्परा सिकाएको छ । उसले केही दिन अघि ३ दिने जनै बनाउने तालिम दिएको छ । समाजले नयाँ पुस्तामा जनै बनाउने सिपको विकास गराई संस्कृति बचाई राख्न तालिम दिएको हो ।

नयाँ पुस्ताप्रति जनै बाट्ने परम्पराको विस्तार गरी विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने र उक्त जनै विधिपूर्वक समेत नहुने हुँदा त्यसलाई रोक्न तालिम सञ्चालन गरिएको समाजका अध्यक्ष धर्मचन्द्र नेपालले बताए । जनैको आयात रोक्ने र संस्कृतिमा नयाँ पुस्तालाई आर्कषित गर्नुको साथै रोजगारसँग जोड्नका लागि वडा कार्यालयको सहयोगमा संस्कृतिको संरक्षणमा लागिएको उनको भनाई छ । ‘तागाधारीको पहिचान भनेकै जनै रहेकोले यसको संरक्षणको लागि स्थानीय सरकारले अभियानकै रुपमा अगाडि बढाउनु पर्ने उनको तर्क छ । तालिमको शुभारम्भ गर्न पुगेकी तानसेन नगरपालिकाकी निमित्त नगर प्रमुख प्रतीक्षा सिंजालीले तालिमले नयाँ पुस्तामा जनै बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनले संस्कृतिको संरक्षणमा समाजले देखाएको चासो र चिन्ता प्रसंशनिय रहेको बताईन् । सिंजालीले भनिन्, ‘नयाँ पुस्ताले जनै बनाउन सिके हुने भन्ने थियो अहिले सिकाउने काम भएको छ । 

यो त सबैका लागि खुसीको कुरा हो । एकातिर संस्कृतिको जगेर्ना हुने र अर्काेतर्फ आयआर्जनमा टेवा पुग्ने भएकाले युवा पुस्ताले जनै बनाउन चासो दिए हुने  हो ।’ उनले यस्ता संस्कृतिको संरक्षणमा  नगर सरकारले समेत विशेष ध्यान दिर्दै आएको उल्लेख गरिन् । कार्यक्रममा तानसेन– १ का वडाध्यक्ष सुनिल बस्याल, २ का वडाध्यक्ष महेश्वर श्रेष्ठ, २ की महिला वडा सदस्य सविता भट्टराई, प्राचार्य चक्रपाणी गौतम, सामाजिक तथा वौद्धिक व्यक्तित्व बुद्धि प्रसाद शर्मा, पत्रकार सेनानी मेघराज शर्मा, विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य हरि शंकर बस्याल, तानसेन नगरपालिका प्र्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, अधिकृतहरु दुर्गा थापा, भरत आचार्य,  कौशल न्यौपाने लगायतले हिन्दुहरुका लागि जनैको निकै महत्व रहे पनि बाहिरबाट कडोरौंको जनै आयात गर्नु पर्दा नेपाली पैसा विदेश पठाउनुपर्ने बाध्यता रहेकाले त्यसलाई रोक्न यस्ता तालिम महत्वपूर्ण हुने बताए । उनीहरुले स्थानीय स्तरमा जनै बनाउने तालिम लिई जनै उत्पादन गर्न सके संस्कृतिको जर्गेना हुने र व्यवसायिक रुपमा उत्पादन गर्न सके निम्न आय भएका व्यक्तिहरुका लागि  जिविकोपार्जन समेत हुनेमा जोड दिए । मुख्य प्रशिक्षक नारायण प्रसाद अर्यालले यो पहिलो पटक आयोजना गरिएको तालिम भएकाले नयाँ पुस्तालाई सिक्न केही समय लाग्ने बताए । उनले छोटो समयको तालिमले मात्र सिकाइ पूर्ण नहुने भन्दै आगामी दिनहरुमा यसका लागि समय र दायरा फराकिलो पार्नु पर्नेमा जोड दिए । प्रशिक्षक नारायण प्रसाद अर्याल, धुर्व ज्ञवाली, हरी शंकर बस्याल, डुकुलराज ढकाल, गोविन्द नेपाल  लगायतले जनै बनाउन सिकाएका थिए। उनीहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह समेत गरे । प्रतिक्षार्थीहरु उज्ज्वल ज्ञवाली, तुल्सा नेपाल, विश्वराज रेग्मी लगायतले तालिम लिएपछि आफ्नो घरासयी प्रयोगका लागि आवश्यक जनै आफैंले बनाउन सकिने बताए । तालिममा ४२ जनाले तीन दिनसम्म तालिम लिएका थिए ।  तालिममा धागो तेब्राउने, सिका पार्ने र छ सराको बनाउने सीप सिकाइएको थियो । समाजका अध्यक्ष धर्मचन्द्र नेपालको अध्यक्षता,कोषाध्यक्ष कृष्ण चालिसेको स्वागत र सचिव पुरुषोत्तम अर्यालको सञ्चालनमा तालिम भएको थियो ।

यसरी बन्छ जनै
बजारबाट ल्याएको काँचो धागोलाई सानो चर्खाको सहायताले संगालेर जनै बनाउने  गरिन्छ । कतुवाको सहायताले काँचो धागो बाटेपछि जनैको डोरा तयार हुन्छ । काँचो धागोको २७ सरा बेरेर ३ सरे र ५४ सरा बेरेर ६ सरे जनै तयार हुन्छ । शिखासहितको जनैलाई वैदिक मन्त्रले मन्त्रेपछि त्यो पूर्ण हुन्छ । शिखा जनैको महत्वपूर्ण भाग हो । यसलाई  ब्रम्हगाँठो समेत भनिन्छ । स–साना नियमलाई उन्दै गएर जनै तयार हुन्छ । शास्त्रीय भाषामा जनैलाई यज्ञोपवित भनिन्छ । ब्राह्मणले उपनयन गरेपछि वेद पढ्नुपर्ने र वेद पढ्न जनै (बह्ममसूत्र) लगाएरै पढ्नुपर्ने मान्यता छ । यसले मान्छेलाई सांस्कृतिक रुपमा अनुशासित बनाउने विश्वास रही आएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update