Shittalpati
खबरदारी गरौं

देशमा कसैको पनि बहुमत नआएपछि राजनीतिक दलहरुले आलोपालो गरी सरकार सञ्चालन गर्दै आएका छन् । जुन सुकै दल र नेताले सत्ता सम्हाल्दै आए पनि जनताले भने कहिल्यै सुखको अनुभूति गर्न पाएका छैनन् । जनताले २०४६ सालको जनआन्दोलनपछि रोजगार, आर्थिक समृद्धि र सुशासनको अनुभूति हुने आशा गरेका थिए । त्यसो हुन सकेन । बरु राजनीतिक नेता मोटाए, जनताको आशाको त्यान्द्रो चुँडियो । आम जनताका लागि हरेक सरकार ‘जुनसुकै जोगी आए पनि कानै चिरेका’ भनेझैँ भएको छ । भएको सरकार ढल्ने र नयाँ सरकार बन्ने विषय केवल सत्ताका आसेपासे, त्यसबाट फाइदा लिनेको लागि मात्र सरोकारको विषय बन्न पुगेको छ । राजनीति आमजनताको सरोकार हुनुपर्ने भनिए पनि त्यसो हुन सकेको छैन् । राजनीतिक दलका नेता र कार्यकर्ताको क्रियाकलापले गर्दा आममानिसमा राजनीतिप्रति लगावको भावना बढेको देखिँदैन । राजनीतिप्रति वितृष्णा पैदा हुनु देश र जनताका लागि राम्रो होइन । तर यो नेपाली राजनीतिको तीतो यथार्थ बन्न पुगेको छ । जनताले न प्रजातन्त्र अनुभूत गर्न पाएका छन् न त गणतन्त्र ! जनताको नाममा राजनीतिक नेताहरूले ब्रह्मलुट मच्चाइरहेका छन् । त्यसैले यस्तो कार्यविरुद्ध खबरदारी गर्नुपर्ने बेला आएको छ ।

नेतृत्वले आफूलाई सर्वेसर्वा ठान्ने, भुईं मान्छेका कुरा नसुन्ने, पदमा पुगेपछि जनजीवीकाका समस्याप्रति बेवास्ता गर्ने प्रवृत्तिका कारण जनताले सधै दुख मात्र पाएका छन् । प्रत्येक वर्ष लाखौं विद्यार्थीहरु गुणस्तरीय शिक्षा प्राप्तिका लागि थातथलोका जग्गा बिक्री र बन्धकी राखेर विदेश गइरहेका छन् । देशका सक्षम युवाहरू आफ्नो रोजीरोटीका लागि विदेशी भूमिमा जानुपर्ने बाध्यता छ । कसरी आफ्ना नागरिकलाई देशमैं रोजगारीको सिर्जना गरेर आत्मनिर्भर बनाउन सकिन्छ भन्नेतर्फ सरकार राजनीतिक दलहरुको एकरत्ति पनि ध्यान छैन । दैनिक उपभोग्य भान्छा, लुगालत्तादेखि सबैको मूल्य आकाशिएको छ । सामान्य आम्दानी हुनेहरूलाई बाँच्नै धौधौ भइरहेको अवस्था छ । तर देशका राजनीतिक दलहरू भने सरकार बनाउने र गिराउने खेलमै रमाइरहेका छन् । यो अत्यन्त विडम्वनाको कुरा हो । अब जनता आफै सचेत हुन जरुरी छ । जनस्तरबाटै सरकार र राजनीतिक दलहरुलाई खबरदारी नगर्ने हो भने सधै यस्तै अवस्था व्यहोर्नुपर्दछ । तसर्थ देशमा आर्थिक समृद्धि र सुशासन स्थापित गरी सुखको अनुभूति गर्नका लागि जनता आफैले राजनीतिक दल र सरकारलाई सशक्त ढंगले खबरदारी गर्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update