Shittalpati
डेढ वर्षपछि दुुई संसदीय समितिले पाए नेतृत्व

पाल्पा, प्रतिनिधिसभा निर्वाचन भएको करिब डेढ वर्षपछि संघीय संसदका दुई वटा समितिले नेतृत्व पाएका छन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति र संसदीय सुनुवाइ समितिले डेढवर्षपछि विहीबार नेतृत्व पाएका हुन् ।

जहाँ पाल्पा क्षेत्र न. २ का संघीय सांसद तथा नेकपा एमालेका नेता ठाकुरप्रसाद गैरे संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । उनको प्रस्तावकमा सरस्वती सुब्बा र समर्थकमा दीलेन्द्रप्रसाद बडु रहेका थिए । पाल्पाका बगनासकाली गाउँपालिकाको बराङ्दीमा जन्मिएका गैरेको राजनीति र सामाजिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको छ । २०४७ सालमा तत्कालीन नेकपा (माले) को संगठित सदस्यता लिएपछि उनी राजनीतिमा निरन्तर क्रियाशील रहेका हुन् ।

पार्टीमा संगठित जीवनको ३२ वर्षपछि संघीय सांसद बनेका गैरे विद्यालय पढ्दा नै अनेरास्ववियुमा संगठित भएका थिए । गैरे २०५३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै २०६३ मा अध्यक्षमा निर्वाचित भए । यस्तै नेकपा (एमाले) को बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट केन्द्रीय राजनीतिमा प्रवेश गरेका थिए । यस्तै संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली काँग्रेसकी नेत्री ईश्वरीदेवी न्यौपाने पनि निर्विरोध भएकी छन् । उनको मनोनयन प्रस्तावकमा श्यामकुमार घिमिरे र समर्थकमा सुनिता बराल रहेका थिए । दुबै समितिको विहीबार बसेको छुट्टा छुट्टै बैठकमा दुबै समितिका जेष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । सभापतिका लागि एकल उम्मेदवारी परेपछि दुवै जना निर्विरोध निर्वाचित भएका हुन् । यसअघि संसदीय सुनुवाइ समितिको बैठक जेष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति यही साउन १५ गते गठन भएको हो । निर्विरोध निर्वाचित दुबै सभापतिले बिहीबार नै सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गरेका छन् । शपथलगत्तै दुवै सभापतिले पदभार ग्रहण गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update