Shittalpati
तानसेनका विपन्न उपभोक्तालाई विद्युत महसुलमा छुट

पाल्पा, जिल्लाको तानसेन नगरपालिका भित्रका विपन्न उपभोक्ताहरुले न्युनतम विद्युत् महशुलमा छुट पाउने भएका छन् । ५ एम्पियर स्वीकृत क्षमता भएका र २० युनिटसम्म विद्युत खपत गर्ने  गराउने २ हजार २ सय २६ विपन्न उपभोक्ताको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको हो ।

महसुल छुुटका लागि तानसेन नगर कार्यपालिकाको कार्यालय र नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्द्रबिच सम्झौता भएको छ । नगर भित्रका नगरवासीले खपत गर्ने न्युनतम् विद्युत महशुल छुट सम्बन्धी कार्यविधि, २०७९ को आधारमा नगरपालिकाबाट दिइने न्यूनतम विद्युत महसुलमा छुटको लागि प्राविधिक व्यवस्थापन गर्नेगरी सम्झौता भएको नगरपालिकाका सूचना अधिकारी भरत प्रसाद आचार्यले बताए । नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० देखि नै नियमित खपत गर्ने न्यूनतम् विद्युतमा छुट दिदै आएको छ । यस आर्थिकमा वर्षमा पनि १४ वटा वडावाट सिफारिस भई आएका जसले ५ एम्पियर स्वीकृत क्षमता भएका र २० युनिटसम्म विद्युत खपत गराउन्छन् ति उपभोक्ताहरुको ८ लाख १ हजार ३ सय ६० बराबर नगरपालिकाले भुक्तानी गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला र वितरण केन्द्रका प्रमुख दिलिप मरासिनीले हस्ताक्षर गरेका छन् । केन्द्रका प्रमुख मरासिनिले तानसेन नगरपालिकाले जनहितको लागि गरेको निर्णय महत्वपूर्ण रहेकाले सम्झौता बमोजिम काम गर्ने प्रतिवद्धता व्यक्त गरे । तानसेन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख प्रतिक्षा गाहा सिंजालीले सम्झौताले स्थानीय नगरवासीलाई केही राहत महशुस हुने विश्वास व्यक्त गरिन् । विगतका वर्षमा जस्तै यस वर्ष पनि उपभोक्तालाई सहुलियत दिइएको नगरपालिकाका योजना अधिकृत दुर्गा बहादुर थापाले बताए ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update