पाल्पा, जिल्लाको तानसेनस्थित टुँडिखेल पुग्ने जो कोही नजिकै रहेको ऐतिहासिक ‘वीरेन्द्र फुलबारी’ पुगेर क्यामरामा फोटो कैद नगरी फर्कने सायद कमै होलान । त्यहाँ रहेको सानो पानीको पोखरी, त्यहीमाथि दौरा, सुरुवाल, कालो कोट, शिरमा पाल्पाली ढाका टोपीले सजिएका तत्कालीन राजा वीरेन्द्रको पूर्णकदको शालिक, पानीको वरीपरी सदावहार सुगन्ध छर्ने गुलाफका फुललाई साक्षी राखेर त्यहाँ पुग्नेहरु तस्वीर खिचाउँदै रमाउने गर्दछन् । पार्क भित्र प्रवेश गरेपछि त्यहाँको शान्त वातावरण र फुलहरुको वास्ना र दृश्यहरुले साच्चिकै जो कोहीको मन लोभ्याउने गर्दछ । तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाई बन्न सफल भएको ‘वीरेन्द्र फुलबारी’ यति बेला भने घाँसे मैदानमा परिणत भएको छ । पञ्चायतकालमा तत्कालिन राजा वीरेन्द्रको नामबाट बनाइएको फुलबारी संरक्षणको अभावमा घाँसे मैदानमा परिणत हुन पुगेको हो ।
त्यहाँ भित्र जान सक्ने अवस्था छैन् । केही वर्ष अघिसम्म चारैतिर रंगीविरगी गुलावको फुल फुलेका हुन्थे । त्यहाँ पुग्ने जो कोही भित्र पसेर रमाउने गर्थे । तर फुलबारी अहिले घाँसेमैदान जस्तो बनेको छ । पाल्पा उद्योग वाणिज्य संघले त्यहाँ केही वर्ष अघि पार्क सरसफाई र रगं रोगन गरेको थियो तर तानसेन नगरपालिकाले त्यसलाई निरन्तर नदिदाँ अहिले नाम मात्रको फुलबारी बनेको स्थानीयको आरोप छ । २०३७ सालमा तत्कालीन नगर पञ्चायतका प्रधानपञ्च विन्दु प्रसाद नेपालीले राजा वीरेन्द्रको ३६ औं जन्मोत्सवको अवसरमा पूर्णकदको शालिक निर्माण गराउन लगाएका थिए । यति बेला उक्त फूलबारीमा ५२ प्रजातीका गुलाफका फुलहरु समेत लगाइएको थियो । तत्कालीन समयमा फूलबारी प्रमुख आकर्षणको केन्द्रबिन्दु नै बनेको थियो । फूलबारीको २०३७ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादु थापाले उद्घाटन गरेका थिए । द्वन्दका समयमा समेत वीरेन्द्रको शालिक सुरक्षित नै रहेको थियो । यहाँ पानीका फोहरा र गुलावका फुलसहित आकर्षक फुलबारी निर्माण गरिएको थियो । केही वर्षसम्म यसको संरक्षण समेत हुँदै आएको थियो तर अहिले संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिदा फुलबारीको निशाना नै हराएको छ । स्थानीय संस्कृति, सम्पदाको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भए पनि त्यसतर्फ तानसेन नगरपालिकाले ध्यान नदिएको स्थानीय केशवराज नेपालले बताए । ऐतिहासिक फुलबारीको संरक्षणमा नगर सरकार जिम्मेवार हुनुपर्ने उनको भनाई छ । पर्यटकीयस्थलको संरक्षण हुन नसक्दा तानसेनको पर्यटन क्षेत्रको विकासमा समेत ठूलो क्षति हुन पुगेको नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पाल्पाका अध्यक्ष राजीव शाहाले बताए । उनले पर्यटकीय क्षेत्र तथा ऐतिहासिक धरोहरले स्थानीयहरुको आयआर्जनमा समेत टेवा पुग्ने भएकाले त्यसको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
तानसेन आफैमा पर्यटकीय शहर भए पनि यहाँका पर्यटकीयस्थलहरुको सरंक्षण हुन सकेको छैन् । केही वर्ष अघि पाल्पा उद्योग वाणिज्य संघले वीरेन्द्र फुलबारी संरक्षणमा अग्रसरता देखाए थियो । नगरपालिकासँग संरक्षणका लागि सम्झौता गरेर संघले १ वर्ष सरसफाई र रंग रोगन गरे पनि त्यसले निरन्तरता पाउन सकेको छैन् । बजेट अभावका कारण उचित संरक्षण गर्न नसकिएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । उनले स्थानीय सरकारले निजी क्षेत्रसँग समन्वय नगर्दा तानसेनका पर्यटन क्षेत्रहरु ओझेलामा पर्दै गएको बताए । नगर भित्र रहेको पूmलबारीको संरक्षण गर्न स्थानीय सरकारलाई भनिए पनि त्यसको वेवास्ता गरेको स्थानीयको आरोप छ । तानसेन नगरपालिकाका सूचना अधिकारी भरत प्रसाद आचार्यले भने फुलबारीको संरक्षण गरी आकर्षण पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरी नगरपालिका लागेको बताए । उनले नगर भित्र रहेका सम्पदाहरुको संरक्षण गर्ने जिम्मा स्थानीय सरकारको भएकाले नगरपालिका त्यस विषयमा गम्भीर रहेको प्रतिक्रिया दिए ।