पाल्पा, नेपाली काँग्रेस पाल्पाका जिल्ला सदस्य तथा महासमिति सदस्य कृष्णप्रसाद बस्यालले नेपाली काँग्रेस जिल्ला कार्य समितिलाई ११ बुँदे रचनात्मक सुझाव पेश गरेका छन् । पार्टीलाई थप चलायमान बनाउनेदेखि पार्टी भित्रका कार्यकर्ताहरुको आन्तरिक व्यवस्थापनलाई जोड दिई सबै कार्यकर्ताहरु बीच सुमधुर सम्बन्धको विकास गर्न जोड दिदै उनले पार्टी सभापति हिमालदत्त श्रेष्ठलाई भेटेर सुझावसहितको पत्र पेश गरेका हुन् ।
पार्टीका नयाँ पुराना, हाल पार्टीमा प्रत्यक्ष भूमिका नभएका/नपाएकाहरु साथीहरुबाट आएका विषयवस्तुहरुलाई नेता बस्यालले पार्टीलाई सुझावका रुपमा पेश गरेका छन् । पार्टीका साथीहरुबाट आएका विषयहरुलाई पार्टी संगठनको निमित्त उपयुक्त हुने ठानेर जिल्ला सभापति समक्ष रचनात्मक सुझाव पेश गरेको उनले बताए ।
पार्टीको १४ औ अधिवेशन, स्थानीय, प्रदेश र संघीय निर्वाचन पछिको पार्टी संगठन, कार्यकर्ता परिचालन, पार्टीको स्थानीय र प्रदेश सरकारहरुबिचको समन्वय र सहकार्य लगायतका गतिविधिहरुमा ठिक तरीकाले परिचालित तथा समन्वय ल्याई संगठनलाई मजबुत बनाउन र आगामी निर्वाचनमा पाल्पामा काँग्रेसलाई विपक्षीहरु भन्दा बलियो बनाउन, पार्टी भित्र आन्तरिक लोकतन्त्र मजवुत बनाइ राख्न सबै एकजुट भएर संगठन विस्तारमा लाग्न पार्टीलाई नेता बस्यालले जोड दिएका छन् ।
उनले नेपाली काँग्रेसको वर्तमान विधान अनुसार क्रियाशील सदस्यताको अनुपातमा क्षेत्रिय प्रतिनिधि चयन गर्ने प्रणालीलाई समयानुकूल बनाउन केन्द्रमा पहल गर्नुपर्ने, धेरै क्रियाशील भएका वडाहरुमा न्युनतम ३० जनालाई आधार मानि त्यसपछि प्रत्येक १०ः१ को अनुपातमा क्षेत्रिय प्रतिनिधि चयन हुने व्यवस्थाका लागि पहल गर्नुपर्ने, क्रियाशील सदस्य वितरण पारदर्शी र प्रभावकारी बनाउनु पर्ने र विधान अनुसार वार्षिक नवीकरणको प्रावधान सक्रिय तथा कार्यान्वयन गर्नुपर्ने, पार्टीका तर्फबाट गरिने पार्टी भित्रका विभिन्न तह र तप्काका पदहरु, भातृ तथा शुभेच्छुक संघसंस्थाहरुका पदहरुमा सबै पक्षलाई समेटिने गरी गठन गरिने व्यवस्था मिलाउनु पर्ने, पार्टी भित्रका तल्लोदेखि माथिल्लो तह सम्मका समितिहरुको नियमित बैठक तथा छलफल गर्न जिल्लाले निर्देशन तथा पहल गर्नुपर्ने सुझाव पार्टीलाई दिएका छन् ।
यस्तै उनले पार्टीको शिफारिसमा नियुक्ति गरिने विभिन्न राजनीतिक नियुक्तिमा सबैको सरसल्लाहमा सबै पक्षलाई समेटिने गरी पारदर्शी हिसावले गरिनुपर्ने, जिल्ला कार्य समितिमा रहेको सचिवालय, कार्यालयलाई अझ बढी चुस्त दुरुस्त, सूचनामुलक र सेवाग्राहीमुखी बनाउनुपर्ने, पार्टीका विभिन्न समितिहरुमा रहेका पदाधिकारी र सदस्यहरुलाई आ–आफनो जिम्मेवारीप्रति सजग बनाउनु पर्ने, पार्टी भित्र कार्यकर्ताहरुको आन्तरिक व्यवस्थापनलाई जोड दिई सबै कार्यकर्ताहरु बीच सुमधुर सम्बन्धको विकासमा पहल गर्नुपर्ने लगायतका सुझाव पत्रमा उल्लेख गरेका छन् । उक्त सुझाव पत्र नेपाली काँग्रेस लुम्बिनी प्रदेश र केन्द्रीय समितिलाई समेत बोधार्थ पठाइएको छ । सुझाव पत्र ग्रहण गर्दै जिल्ला सभापति हिमालदत्त श्रेष्ठले पार्टीका साथीहरुबाट आएका रचनात्मक सुझावलाई पार्टीले आत्मसाथ गर्दै अगाडि बढ्ने बताए । उनले पार्टी संगठनलाई चुस्त, बलियो र सशक्त बनाएर लैजाने दिशामा आफुहरु अगाडि बढेको भन्दै प्राप्त सुझावले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।