Shittalpati
जनैको धार्मिक र वैज्ञानिक महत्व

भोलि (सोमबार) जनैपूर्णिमा पर्व हो । श्रावण शुक्ल पूर्णिमाको दिन विधि पूर्वक पूजाआजा गरी पवित्र बनाईएको जनै धारण गरी यो पर्व मनाउने गरिन्छ । नेपालकै तराई भेगमा यही दिन दिदी बहिनीले दाजु भाइहरुलाई राखी बाँध्ने चलन समेत रहेको छ । जो जनै लगाउँछन् (ब्राह्मण, क्षत्री र वैश्य) उनीहरुको लागि यो पर्व पवित्र पर्वको रुपमा मान्ने गरिन्छ । खास गरेर जनैपूर्णिमा हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो ।

कुनैपनि संस्कारयुक्त तागाधारीहरुले आफ्नो बाँया काँधदेखि दायाँ कम्मरसम्म पुग्नेगरी एक कच्चा धागोलाई बेरेर राखेको हुन्छ । त्यही धागोलाई हामी जनै भन्दछौं । यो जनैमा तीन वटा सूत्र, नौ वटा तार र पाँचवटा गाँठाहरु रहेका हुन्छन् । यही जनैलाई संस्कृतमा यज्ञपवित भनिन्छ र पहिलो पटक यज्ञपवित गर्ने दिनलाई सोह्र संस्कार मध्येको एक दिन पनि मान्ने गरिएको छ । यो जनै सूतबाट बनेको पवित्र धागो हो । जसलाई तागाधारीहरुले बायाँ काँधबाट सुरु गरेर दायाँ हातको मुनिसम्म पुग्ने गरी पहिरिने गरिन्छ । हरेक पर्वको आ–आफ्नै महत्व रहे जस्तै जनैपूर्णिमाको पनि धार्मिक र वैज्ञानिक महत्व रहेको छ । शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारीले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रूपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्त्रे र त्यसलाई धारण गर्ने प्रचलन छ । धार्मिक दृष्टिकोणबाट जनै धारण गर्नाले शरीर शुद्ध र पवित्र हुने मानिन्छ । जनै धारण गरेको व्यक्तिलाई कुनै पनि आसुरी शक्तिले आक्रमण गर्न सक्दैन । जुनसुकै धार्मिक कार्य गर्दा पनि पुरुषले जनै अनिवार्य धारण गरेको हुनु पर्दछ । बिना जनै गरिएको काम पुरा नहुने मात्र होइन विपरित फल समेत दिन सक्ने हुन्छ । यसलाई हिन्दु धर्मको एउटा अनुशासनको कडी मान्न पनि सकिन्छ । वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउँदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ । यसले हृदय रोगको सम्भावनालाई कम गर्छ, चिकित्सा विज्ञानका अनुसार दाँया कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुन्छ । पिसाब फेर्ने समयमा दाँया कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुनुको साथै बाया काधमा जनै राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ भने निन्द्रामा भुत प्रेत आदि बाट हुने ऐठन आदिको भयबाट पनि मुक्ति मिल्छ । काधमा जनै लगाउनाले पेट सम्बन्धि रोग तथा रक्तचापको समस्याबाट समेत बच्न सकिने भएकाले जनैको वैज्ञानिक महत्व रहेको छ । यसर्थ जनैको धार्मिक तथा वैज्ञानिक महत्व भएकाले यसको उपयोगसँगै सरक्षणमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update