Shittalpati
तीन मन्त्रालय खाली, अझै पाएन पूर्णता

पाल्पा, लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन् । सरकार गठन भएको महिना दिन पुग्नै लाग्दा  पनि प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो ।

सत्तारुढ दलभित्र सहमती नजुट्दा सरकार विस्तार हुन नसकेको जनाइएको छ । गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य सरकारलाई पूर्णता दिने गरी गृहकार्यमा जुटेको उनको सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेशमा हाल तीन वटा मन्त्रालय खाली छन् । सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा  मन्त्री नियुक्त गर्न बाँकी छ । यी मन्त्रालय हाल मुख्यमन्त्री आचार्यले सम्हाल्दै आएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कूल १२ मन्त्रालय रहेको लुम्बिनी सरकारमा अहिले काँग्रेसबाट चार र एमालेबाट चार गरी आठ जना मन्त्री छन् । मुख्यमन्त्री आचार्य सरकारलाई पूर्णता दिने विषयमा काँग्रेस र अन्य चार दलसँग निरन्तर छलफलमा रहे पनि त्यसले सार्थकता पाउन सकेको छैन । खाली रहेका तीन जना मन्त्री छिट्टै नियुक्त गरेर सरकारलाई पूर्णता दिने तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । खाली रहेका तीन मन्त्रालयमध्ये एउटा काँग्रेसलाई र दुई मन्त्रालय सरकारको समर्थनमा रहेका साना दललाई दिने तयारी छ । यहाँ एमालेले मुख्यमन्त्रीसहित ५ र काँग्रेसले ५ मन्त्रालयको बाँडफाँड गरेका थिए । दुई मन्त्रालय साना दललाई दिने सहमति भएको छ । तर सरकारलाई पूर्णता दिनेमा कांग्रेसभित्रको संस्थापन र इतर समुहको विवादले अन्योल सिर्जना गरेको स्रोतले जनाएको छ । काँग्रेसबाट मन्त्री बनेर सरकारमा पार्टीको नेतृत्व गर्न लागेका प्रमुख सचेतक जन्मजय तिमिल्सिना सपथ अगाडि नै पार्टीबाट रोकिएपछि काँग्रेसभित्र असन्तुष्ट बढेको हो । पार्टी संस्थापन समूहमा रहेका तिमिल्सिनालाई शेखर–गगन समूहका कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनःसहितको नेतृत्वले दबाव दिएपछि उनी मन्त्री हुनबाट रोकिएका थिए । साउन ९ गते मुख्यमन्त्री आचार्यले सपथग्रहणपछि ९ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए ।

मुख्यमन्त्रीले भदौ ४ गते विश्वासको मत लिने
यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसुचि रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले नियुक्त भएको ३० भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।

एमाले र काँग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले २९ र काँग्रेसका २७ सांसदको उनलाई समर्थन रहेको थियो । हाल गठबन्धनमा साना दलहरुमा नागरिक उन्मुक्ति पार्टीका ४ जनमत ३, लोसपा ३ जसपा २ जसपा नेपाल १ जना सांसद रहेका छन् । लुम्बिनी प्रदेशसभामा ८७ सदस्य रहेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update