संस्कृत देवनागरी लिपिमा लेखिएको पुरानो भाषा हो । संस्कृत भाषा मुख्यतः दुई भागमा विभक्त छ । एउटा वेदमा बोलिने वैदिक संस्कृत हुन्छ भने अर्को लौकिक संस्कृत हुन्छ । वैदिक संस्कृतपछि लौकिक संस्कृत भाषाको जन्म भएको हो । संस्कृत भाषाका कठोर नियमलाई पाणिनीय व्याकरणले सूत्रवद्ध गरेको छ जुन ४ हजार सूत्रमा समेटिएको छ । संस्कृत बोल्दा र लेख्दा एउटै संरचना हुन्छ । वैदिक संस्कृत,लौकिक संस्कृत, प्राकृत भाषाहरूहुँदै आधुनिक आर्यभाषाहरू जन्मिए । आधुनिक आर्य भाषाभित्र नेपाली, हिन्दी, मैथिली, भोजपुरी आदि भाषाहरूको उदय भएको हो । संस्कृत भाषा सनातन धर्मको पवित्र भाषा, शास्त्रीय हिन्दु दर्शनको भाषा, र बौद्ध धर्म र जैन धर्मका ऐतिहासिक ग्रन्थहरूको भाषा हो ।
यो प्राचीन र श्रृष्टिको एक मात्र पहिलो भाषा थियो, र दक्षिणपूर्व एसिया, नेपाल र भारतमा हिन्दु र बौद्ध संस्कृतिको प्रसारण पछि, यो धर्म र उच्च संस्कृतिको भाषा बन्यो, र यी क्षेत्रहरू मध्ये केहीमा राजनीतिक अभिजात वर्गको भाषा बन्यो । फलस्वरूप, संस्कृतले दक्षिण एसिया, दक्षिणपूर्व एसिया र पूर्वी एसियाका भाषाहरूमा, विशेष गरी तिनीहरूका औपचारिक र सिकेका शब्दावलीहरूमा स्थायी प्रभाव पार्यो । तर संस्कृत भाषाको उपयोगिता हिजो आज भने कम हुँदै गएको छ ।
संस्कृत भाषाको वस्तुगत महत्वलाई जन समक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, बौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिन्छ । सोही अनुसार आज विश्व संस्कृत दिवस मनाउन लागिएको छ । जरो किलो प्रतिष्ठान नेपालले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन विश्व संस्कृत दिवस मनाउन थालेको हो ।
संस्कृत भाषाको सम्वद्र्धन तथा प्रवद्र्धनका लागि नेपालमा हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिन्छ । तर प्राचीनतम् भाषा संस्कृतको विश्वमै उपयोगिता र महत्व बढ्दै गए पनि यसको उदगमस्थल नेपालमा भने चासो कम हुन थालेको छ । यो अत्यन्त दुखको कुरा हो । अहिलेको युवा वर्गमा संस्कृत भाषाप्रतिको मोह छैन । यसले कतै संस्कृत नै हराउन थालेको त हैन भन्ने चिन्ता प्रकट गराएको छ । यसर्थ दिवसले नयाँ पुस्तामा संस्कृतप्रति आकर्षण बढाउन सकोस् । त्यसो भयो भने मात्र दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ ।