Shittalpati
विश्व संस्कृत दिवस मनाइँदै

पाल्पा, आज विश्व संस्कृत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा) को दिन पारेर यो दिवस मनाउने गरिन्छ । विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । 

संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रचार प्रसारमा सहयोग पुर्‍याउने हेतुका साथ आजको दिन यो विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संस्कृत भाषाको संवद्र्धन तथा प्रवद्र्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको हो ।

श्रावण शुक्ल पूर्णिमा ऋषिहरूसँग जोडिएको ऋषि तर्पणीको दिन भएकाले यो दिन विश्व संस्कृत दिवस मनाउन थालिएको हो । ऋषिले नै वेदका मन्त्र ध्यान दृष्टिका माध्यमबाट देखेकाले पनि यसैदिन संस्कृत दिवस मनाउन उपयुक्त हुने भएकाले यसको सुरुवात गरिएको जानकारहरु बताउँछन् । संस्कृतलाई सबैभन्दा पुरानो भाषाका रूपमा लिइन्छ । नेपालमा जरो किलो प्रतिष्ठान नेपालले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन दिवस मनाउने गर्दछ । प्राचीनतम् भाषा संस्कृतको विश्वमै उपयोगिता र महत्व बढ्दै गए पनि यसको उदगमस्थल नेपालमा भने चासो कम हुन थालेकाले दिवस मनाउन शुरु गरिएको प्रतिष्ठानले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update