पाल्पा,पछिल्लो केही वर्षयता नेपालमा भारत र चीनबाट बर्सेनी ठूलो परिमाणमा जनै आयात हुने गरेको छ । पुराना पुस्ता असशक्त हुँदै जानुु र नयाँ पुस्ताले जनै बाट्नेतर्फ ध्यान नदिएका कारण बाहिरबाट आउने जनैले सहजै बजार पाउने गरेको हो ।
हरेक वर्ष जनैपूर्णिमामा विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने गरेको पाइन्छ । गाउँ/गाउँमा जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरि प्रयोग गर्ने क्रम बढेको छ । हरेक वर्ष चिनबाट मात्रै करिब ५० लाखको जनै आयात हुने गरेको छ । जनैपूर्णि अर्थात् ऋषि तर्पणीका अवसरमा भारतबाट समेत उत्तिकै रकमको जनै आयात हुने गरेको पाइन्छ । विशेषगरी,जनैपूर्णिमाका दिन फेर्ने जनैको बजार अत्यधिक रहेको र जनै बनाउने प्रचलन कम हुँदै गएकाले बाह्य उत्पादको भर पर्नुपर्ने अवस्था आएको व्यवसायीहरू बताउँछन् । नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रही आएको मान्यता अनुसार पूर्णिमाको दिन जनैको कारोबार पनि ठूलै हुने गरेको पाइन्छ । जनै पुर्णिमाको लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर लगाउने प्रचलन समेत बढेको छ ।
भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावटी राम्रो र उपयुक्त नहुने भएपनि त्यहि किन्न बाध्य भएको तानसेन कैलाशनगरका महेन्द्र अधिकारी बताउँछन् । उनले भने ‘जहाँ गए पनि बजारमा त्यही बाहिरबाट आएको जनै विक्री गर्न राखेका हुन्छन्,त्यही किनेर लगाउनु हाम्रो बाध्यता हो ।’ बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा पाउने गरेको अधिकारीको भनाई छ । बजारमा मेसिनबाट बनाइएको जनै प्रतिगोटा मूल्य १० रुपैयाँ र हातले बनाएको जनै प्रतिगोटा १५ रुपैयाँमा विक्री हुने गरेको पाइन्छ । जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गएपछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको गुल्मी मुसिकोटका पण्डित विष्णु घिमिरेले बताए । उनले भने, ‘पहिले घरमै धागो ल्याएर बाटिन्थ्यो अहिले कसैलाई फुर्सद नै छैन ।’
श्रद्धा, आस्था, मूल्य र मान्यता जोडिएका जनैजस्ता वस्तुलाई प्रतिस्पर्धात्मक बजारमा जोगाउन सकेनौं भने कुनै दिन आफ्नो अस्तित्वसँग जोडिएका वस्तुहरूको लिलामी गर्नुपर्ने दिन नआउला भन्न सकिन्न । जनै त एउटा प्रतिनिधि वस्तुमात्र हो; हामीमाझ आफ्नो पहिचान, गर्व र शान जोडिएका यस्ता धेरै वस्तु छन्, जसमा हामी परनिर्भर हुनुपरेको छ । अझै पनि आयातित वस्तुहरूको भरमा जीवन सहजीकरण गर्दै जाने हो भने बिस्तारै हामीले आफ्नो पहिचान गुमाउँदै जानुपर्ने छ ।
आज जनै पूर्णिमा पर्व मनाइँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।
तराईमा आ–आफ्ना दाजुभाइलाई दिदीबहिनीले आजै राखी बाँध्ने चलन छ । हातमा बाँधिएको डोरो गाईतिहारका दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार होइन्छ भन्ने जनविश्वास छ । हिन्दु धर्मावलम्बीले यस पूर्णीमाको दिन नजिकैंको तीर्थस्थलमा गई मन्त्रोउच्चारण गरी विधिपूर्वक पुजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णीमा पर्व मनाउँदै छन् । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । पछिल्लो समय हिन्दु धर्मावलम्बीको पवित्र पर्वको रुपमा मनाइने जनैपूर्णीमाको महत्व भने पुरोहितको अभावमा पनि हराउँदै गएको छ । जनैपूर्णीमा अर्थात् रक्षाबन्धनका दिन नजिकैको धार्मिक मठमन्दिर तथा नदीछेउमा गएर विधिपूर्वक पुजाआजा गर्नुपर्ने भएतापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको पण्डित हुमनाथ न्यौपानेले बताए । उनी भन्छन्, आधुनिकताको नाममा र पुरोहितहरूको अभावमा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ । ‘संस्कृत भाषा शिक्षा हराइसक्यो जसको प्रभाव संस्कृतिमा परेको छ । यसले आध्यात्मिक चिन्तनको बाटोभन्दा पनि गलत प्रभावलाई जोडबल पुगेको छ,’उनले भने ।