Shittalpati
यलदेखि तानसेनसम्म मतयाको यात्रा                                                               

 –निर्मल श्रेष्ठ

थालनी
ढोकाको खापामा ढकढककोे आवाजले यस पंक्तिकारकोे लेखनमा क्रमभङ्ग हुन गयो । ढोका खोल्नतिर लागेँ । ढोका खोलेपछि ढोकाको सामुन्ने मंगल दाइ (मंगलप्रसाद बज्राचार्य, टक्सार टोल) ठिङ्ग उभिरहनु भएको थियो । आउँदो २०८१ साल भाद्र ५ गतेका दिन परम्परादेखि चलिआएको मतया (दीप महोत्सव) र २०८१ साल भाद्र ७ गतेका दिन श्री ७ सूर्य विनायक गणेश मन्दिर परिसरमा हुन गई रहेको लक्ष्यबत्ती दीप प्रज्ज्वन कार्यक्रमको निम्तो दिन आउनु भएको रहेछ । अभिवादन आदान–प्रदान पछि एउटा पहेलो रङ्गको निम्तो कार्ड दिनु हुँदै, आउनु होला है ! भन्नु भयो । चौरासी बसन्त पार गरिसक्नु भएका मंगल दाइ अहिले पनि युवा जत्तिकै जाँगरिला र जुझारु हुनु हुन्छ । उहाँ धार्मिक कार्यमा, दाफा भजनमा, जात्राहरुमा भेटिनु हुन्छ । भाद्र कृष्ण द्वितीयाको दिन गाई जात्रा (सापारु)को भोलिपल्ट परम्परादेखि तानसेनमा प्रचलनमा रहेकोे मताया (दीप यात्रा), चार दशकदेखि सुस्ताएको थियो । तर श्री ७ सूर्य विनायक मन्दिर दाफाः भजन खलः, टक्सारको आयोजनामा यस वर्ष सांस्कृतिक चाडपर्व मतया (दीप यात्रा) लाई मनाउने कुराले यस पंक्तिकारलाई खुसी लाग्नुका साथै नयाँ पुस्ताको जानकारीको लागि यस विषयमा केही लेखु लेखु भन्ने चौ चौ पैदा गरिदियोे ।
पृष्ठभूमि
हाम्रा प्राचीन धर्म, इतिहास, संस्कृति एवं जीवनका विभिन्न धरोहरहरुबारे यथार्थ जानकारी प्राप्त गर्नको लागि हामी कहाँ प्रचलित चाडपर्वहरुको अध्ययन एवं अनुसन्धान हुनु आवश्यक छ । किन भने चाडपर्वहरु विगतका विस्मृत इतिहास, संस्कृति आदिको ऐना हुन् । ऐना नहेरी हामी आपूm स्वयम् नचिनिने भए जस्तै हाम्रा विगतका विस्मृत फाँटहरुको जानकारी हामीलाई चाडपर्वसँगको स्पर्श बिना संभव हुँदैन । हाम्रा चाडपर्वहरु रहस्यमय, रंगीन र रमाइला छन् । साथै प्राचीन परम्परा र संस्कार, आख्यानक, धार्मिक एवम् ऐतिहासिक पृष्ठभूमिसँग घुलन भएका अनुष्ठानहरु तथा प्रमोदक उपाख्यान र लोक कथाहरु सम्पत्तिको रुपमा रहेका छन् । विभिन्न चाडपर्वहरुमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयाको दिन गाईजात्रा (सापारु)को भोलिपल्ट पाटन (ललितपुर) शहरमा मनाइने एउटा पिकुलर चाडपर्व मतया (दीपयात्रा) हो । 
मतया के हो ? 
मुखसुखले ‘मतिया’, ‘मत्या’ भनिने यस मतयाः (दीप यात्रा)लाई नेपाल भाषामा मत वियाः (इताः च्याकाः) वइगु जात्रा याने नेपाली भाषामा मतयाको शाब्दिक अर्थ दीप यात्रा हो । यसरी नै अँग्रेजी भाषामा Mata-yaÚ लाईFestival of LampsÚ भन्ने गरिन्छ । मतया(दीप यात्रा) लाई लिपिमा लेख्दा नेपाल भाषामा ‘मतया’, ‘मतयाः’ लेख्ने गरिन्छ भने अँग्रेजी भाषामा Matayata, Mata-yaÚ लेख्ने गरिन्छ । यो मतया (दीप यात्रा)को नाम किन मतया (दीप यात्रा) रहन गयो भन्ने सन्दर्भमा मतया (दीप यात्रा) मा जाने सबै सहभागीहरुले आफ्नो हात हातमा बत्ती बोकेर जाने भएकोले मतया (दीप यात्रा) रहन गएको होे । मतया (दीप यात्रा)लाई ‘नेकू (न्यकू) यात्रा’ वा ‘श्रृङ्ग भेरी यात्रा’ पनि भन्ने गरिन्छ ।  

मतया (दीप यात्रा) को प्रारम्भ
मतया (दीपयात्रा) लिच्छवि बालार्चन देवको पालादेखि प्रचलनमा आएको भन्ने जनश्रुति रहेको छ । नेपालमा खास गरी पाटन (ललितपुर)मै सीमित यस मतया (दीप यात्रा)को प्रारम्भ कहिलेदेखि चालिआएको भन्ने सन्दर्भको यकिन गर्न नसकेता पनि नेपाल संवत् ७९३ को एक धरःपौमा मतयाको उल्लेख भएकोले मतया (दीपयात्रा)को प्रारम्भ १७ औं शताब्दीको उत्तराद्र्धतिर भएको संस्कृतिविद हरिराम जोशीको भनाई रहेको छ । तर डनेल राईटले आफ्नो पुस्तकमा मतया (दीप यात्रा)को शुरुवात ठकुरीवंशका राजा शंकर देवका सन्तान गुण काम देवले मतया र श्रृङ्गभेरी जात्राको शुरुवात गरेको उल्लेख गरेका छन् । डनेल राईटको यस कुरालाई तारिफ गर्दै सत्यमोहन जोशीले आप्mनो पुस्तकमा मतया(दीपयात्रा)को विषयमा थप अध्ययन र अनुसन्धान गर्न सुझाएका छन् । डनेल राईटको यस कुरालाई तथ्यपूर्ण मान्दै लुसिनो पेटेकाले पनि गुण काम देवको शासनकाल (ई.सं.९४२–१००८)मा त्यसबेला (ई.सं.१०००)देखि यल      (ललितपुर)मा मतयाः र न्यकू जात्रा संस्थागत रुपमा संचालन भएको बताएका छन् ।
मतया (दीप यात्रा)को धारणा
मतया (दीप यात्रा) को उत्पत्तिको विषयमा दुईवटा मत (धारणा)हरु पाइन्छन् । पहिलो मत (धारणा) अनुसार ब्रह्मलीन भएका आत्माको चीर शान्तिकोे कामना गरी मनाउने मतया   (दीप यात्रा)लाई लिने गरिएको छ । यस मत (धारणा)को ज्यापुहरुले दह्रो रुपमा बोक्ने गर्दछन् भने अर्को मत (धारणा) उच्च वर्गले फरक ढङ्गले विश्लेषण गरेको पाइन्छ । उक्त मत (धारणा) अनुसार बौद्धधर्मालम्बिहरुले यस पर्वलाई बुद्धले बोधिज्ञान प्राप्त गर्नुभन्दा अगाडि उनकोे ध्यान  (तपस्या)लाई भङ्ग गर्न मार असफल भई परास्त भएको उपलक्ष्यमा मनाउने विजयको प्रतीक, ‘विजय पर्व’को रुपमा लिने गर्दछन् ।
यसको प्रकृति
 मतया (दीपयात्रा)को लागि बाल्ने बत्ती आप्mनै हातले कातिएको हुन्छ । उक्त बत्ती कपासबाट तयार भएका पाँच–पाँच वटा बत्ती एकसाथ राखेर त्यसमा शुद्ध तोरीको तेलले भिजाउने गरिन्छ । त्यही बत्ती चढाई, बालेर परिक्रमा गर्ने गरिन्छ । बीज नभएको स्वच्छ कपास, करुणाको प्रतीक हो भने तेलमा मुछेर बालेको बत्तीको किरण पञ्च–स्कन्ध (बौद्ध दर्शनअनुसार रुप, वेदना, संज्ञा, विज्ञान र संस्कार), यी पाँच गुणहरुको समुदाय तथा पञ्च–महाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश)को संयोग सूक्ष्माति सूक्ष्म जीवाणुको संस्कारद्वारा एक अर्का समावेश भएर अनेकतामा परिणत भएको स्वप्नवत् संसारको अज्ञान, अन्धकार निर्मूल गर्ने सर्वधर्म शून्यता ज्ञान नै ज्ञान ज्योतिको रुपमा लिने गरिन्छ । मतया (दीप यात्रा)गर्न जानेहरु विहानदेखि आ–आफ्नो घर आँगन सफासुग्घर गरी नुहाई धुवाई गरी पवित्र भई आफ्नो परम्परागत भेषभुषा लगाई हात हातमा धूप–बत्ती र अनेक फलपूmलसहित मिठाई लिई ७०० चैत्य र विहारहरुको परिक्रम गर्ने गर्दछन् । 

विहान आयोजना हुने मतया (दीप यात्रा)को समापन पछि दिउँसो ‘नेकू यात्रा’ अर्थात् ‘श्रृङ्ग भेरी यात्रा’को प्रारम्भ ललितपुर दरवार अगाडिबाट हुने गर्दछ । त्यसबेला धाःबाजा समेत गरी १८ किसिमका धाः बाजा, धिमे, नाय्खी, कोचाखी, मगःखी, नगरा, ढोलक, मृदङ्ग, झाक्री बाजा, दह, या बाजा, खंजरी, डव डव, दमरु, दमी खी, नैकू, टिक र्ती र पयःता खी बाजाहरु बजाउने गरिन्छ । यी सबै बाजाहरुको नेतृत्व धा बाजाले गर्ने गर्दछ । विशेष गरी पाटन  (ललितपुर)मा मनाइने मतया अर्थात् बत्तीको चाड गाई जात्रा (सापारु)को भोली पल्ट हुने यस मतया (दीप यात्रा)मा जानेहरुको समूह शहरको सयौं चैत्यहरुमा गएर पूजाआजा गर्ने गर्दछन् । यस मतयामा कट्टर बुद्धिस्टहरु (बज्राचार्य र शाक्य) लगायत ज्यापुहरुले भाग लिने गर्दछन् । विभिन्न प्रकारका परिधानमा सजिएर पाउमा छुनछुन आवाज आउने नूपुर (पाउजेव) लगाएर डफा का ड्फा बाँधेर मतयामा सहभागी हुने गर्दछन् । कसै कसैले रसिक मजाक पनि गर्ने प्रचलन छ । कोही कोहीले राक्षसको मुखौटा लगाएर गौतम बुद्धको ध्यान (तपस्या)लाई दखल गर्ने मारको अभिनय गर्ने पनि गर्दछन् । यस मतया (दीप यात्रा) मा धेरै जसो महिलाहरुको सहभागी हुने गर्दछ । तिनीहरुले बलिरहेको बत्ती लिएका हुन्छन् । यें (काठमाडौं) मा कुनै परिवार सदस्यको मृत्यु भएको स्मृतिमा समर्पण गरिने मता–वियु–वनेगु को प्रचलन रहेको छ । यस मता–वियु–वनेगु लाई मतया (दीप यात्रा)को प्रतिरुप (अयगलतभचउबचत) को रुपमा लिने गर्दछन् । काठमाडौंमा मनाइने मता–वियु–वनेगु, र पाटनमा मनाइने मतया (दीप यात्रा) को ढाँचामा फरक देखिन्छ । पाटनमा मनाइने मतया (दीप यात्रा) मा महिलाहरुले हात हातमा बत्ती बालेर हिड्ने गर्दछन् भने काठमाडौंको मता–वियु–वनेगु मा माटोको पालामा बत्ती बालेर हिड्ने  गर्दछन् । 
तानसेनमा मतया (दीप यात्रा)

तानसेनमा मतया (दीप यात्रा) हुन्छ भन्दा काठमाडौं खाल्डो, खास गरी पाटनका जानेबुझेकाहरुलाई अचम्म लाग्ने सक्दछ । किन भने आजसम्म मतया (दीप यात्रा) पाटन  (ललितपुर)मा मात्र हुन्छ भनेर लेखिएको साहित्य मात्र पाइन्छन् । प्रकाशित साहित्यहरुको आधारमा आजसम्म मतया (दीप यात्रा)को स्वामित्व पाटन (ललितपुर)ले नै लिदै आएको छ । तर पाल्पाको सदरमुकाम तानसेनमा परम्परादेखि मतया (दीप यात्रा)को प्रचलन चलिआएको   छ । हुन् ता तानसेनमा चार दशकदेखि मतया (दीप यात्रा) को प्रचलन खुम्चिएको छ । तर यस वर्ष मतया (दीप यात्रा) ले नयाँ सज–धजका साथ सांस्कृतिक नगर तानसेनमा आयोजना हुन गई रहेको छ । तानसेनमा कहिले र कसरी मतया (दीप यात्रा) प्रारम्भ भयो भन्ने सन्दर्भमा इतिहासतिर फर्कनु पर्ने हुन्छ । नेपाल–अँगेजयुद्ध (वि.सं.१८७१–७२)मा समर सौन्दर्यका नायक कर्णेल उजीरसिंह थापाको नेतृत्वमा गएको ढाक्रे, जागिरे, थरघर र नेपाली सेनाले ब्रिटिश साम्राज्यको इकोनोमिक इञ्जिनको रुपमा रहेको ईष्ट इण्डिया कम्पनीको फौजलाई दुई पटक परास्त गरी नेपालको पक्षमा विजयश्री हासिल गरेको थियो । लडाइँ खेल्न जानु अघि यदि समरभूमिमा विजयश्री हासिल भयो भने भव्य निर्माण गरी महिषासुरमर्दिनी भगवती माईको चारैचौरास महिमा फैलाउने छु भनि कर्णेल उजीरसिंह थापाले भाकल गरेका थिए । सोही भाकल बमोजिम भव्य मन्दिर निर्माण गरी अष्टधातुले बनेको अठारवाहुको महिषसुमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवतीको मूर्ति स्थापना गरेका थिए । सो मन्दिरमा पूजाहारीको रुपमा ललितपुर महानगरे जयश्री मित्र संस्कारित मयुरवर्ण विहारका गौतम गोत्रका चन्द्रमणी गुभाजुलाई ल्याइएको थियो । तानसेन नयाँ प्रशासकिय केन्द्रको रुपमा स्थापित भएपछि पाल्पा सामाकोटमा भएको टक्सारलाई तानसेनमा सारिएको थियो । तानसेन टक्सारमा टकमरीको काम शुरु भएपछि पाटन (ललितपुर) बाट खास गरी शाक्य र व्रजाचार्यहरु कालिगढको रुपमा तानसेन आएका  थिए । तिनीहरुमा कोही काठमाडौं उपत्यकाबाट सिधै पाल्पा आएका थिए भने कोही नुवाकोट, गोर्खा, बाग्लुङ्ग हुँदै पाल्पा आएका थिए । काठमाण्डौ पाटन नाग बहाल क्वालुख्वाबाट मणिराज, तेजमुनि, चन्द्रमुनि पाल्पा आएका थिए् । साथै पाटन बडिगाउँ (बडिगामी) बाट रत्नमनि ब्रजाचार्य तानसेन आएका थिए । यी कारीगढहरु लगायत धातुको काम गर्ने ‘थँ बमि’, वास्तुका ढुङ्गाको काम गर्ने ‘ल्हव : कमि’, डकर्मी, माटोको काम गर्ने ‘दँ :कमि’, काठको काम गर्ने ‘सिँ : कमि’, सुवर्णकार, सुनको काम गर्ने ‘लुँ  : कमि’, मास, चुना आदि मिलाएर सुर्की बनाई लेप लगाउने काम गर्ने ‘बज्र : कमि’ हरुको पनि तानसेन आएका थिए । तिनीहरुका सन्तान दर सन्तानहरु तानसेनको टक्सार टोलमा यी पाटनेलीहरुको संख्या उल्लेख्य रहेको छ । धातुकलामा पारङ्गत यी कारीगढहरुले टकमरी कामको साथै तामा, पीतल, काँस, ढलोट आदिका सामाग्रीहरु पनि बनाउने  गर्दथे । पाटनबाट तानसेन आउँदा यिनीहरु मात्र आएनन्, आफूसँग आफ्नो मौलिक संस्कृति, संस्कार र रीति–रिवाजलाई पनि सँगै लिएर आएका थिए । त्यस मतगा (दीप यात्रा) पनि एक हो । 

तानसेनमा हिन्दु नेवारहरुले मनाउने गाईजात्रा (सापारु)ले जीवनको सफलता इन्द्रिय दमनमा निर्भर रहेको मान्यता बोकेको छ भने मतगा (दीप यात्रा)ले ज्ञानदीपको प्रज्ज्वलनलाई जस्वनको सफलताको आधारको रुपमा लिएको छ । यसरी हिन्दु एवम् बौद्धहरुमा प्रचलित यी चाडपर्व मतया (दीप यात्रा) र दोस्रो गाईजात्रा (सापारु)पुरकको रुपमा लिने गरिन्छ । किन भने ज्ञान बिना मानिसमा इन्द्रिय दमन हुनु सम्भव छैन्, अनि इन्द्रियको दमन नभई मानिसको जीवन सफल हुन् सक्दैन । मतमा (दीप यात्रा) सामाजिक पहिचान हो, जसको पृष्टभागमा धर्म जोडिएको छ । यस मतया (दीप यात्रा)ले समाजलाई सामाजिक र व्यक्तिगत रुपमा बाँध्ने काम गरेको हुन्छ । तानसेन मनाइने मतया (दीप यात्रा) पाटनमा मनाइने मतया (दीप यात्रा) भन्दा डिफरेन्ट मात्र होइन ईन डिफरेन्ट पनि रहेको छ । यसको उदाहरण पाटनमा मतया (दीप यात्रा) मा जाँदा मिठाई लिएर जाने गर्दछन् तर तानसेनमा मतया (दीप यात्रा)मा जाँदा कृषि उत्पादनको यस्तो नक्कासी लिएर जाने गर्दछन् कि दर्शकहरुले सक्कली र नक्कलीमा भेद पाउन सक्दैनन् ।  

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update