Shittalpati
आज गाईजात्रा पर्व मनाइँदै, तानसेनमा स्थानीय बिदा

पाल्पा, प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी पाल्पासहित देशभर मनाइँदै छ । नेवारी परम्परा अनुसार जनैपुणिर्माको भोलिपल्ट गाइजात्रा पर्व मनाउने गरिन्छ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । गाई जात्राको दिन आज तानसेन बजारमा मात्रै दर्जन भन्दा बढी गाईजात्रा निकालिदै छ । तानसेनमा काठमाडौं उपत्यकापछि सबै भन्दा बढी जात्रा मनाइन्छ । तानसेनमा गाईजात्राबाट सुरु भएर कृष्ण नवमीको दिन भगवती जात्रा निकालेपछि मात्र समापन हुन्छ । गाई जात्राको दिन आज तानसेन नगर सरकारले स्थानीय बिदा दिएको छ । आइतबार बसेको नगर प्रमुखस्तरीय बैठकबाट आईजात्राको दिन अर्थात् भदौं ४ गते एक दिनका लागि स्थानीय विदा दिने निर्णय गरेको थियो । विदाको दिन नगर कार्यपालिकाको कार्यालयसहित मातहतको सबै वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयसहित अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update