Shittalpati
नेपालमा टिकटक खुलाउने तयारी

पाल्पा, नेपालमा सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मातहतका निकायलाई टिकटक खोल्न निर्देशन दिइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । केही दिनमै टिकटक खुल्ने बताइएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटक प्रतिबन्धपछि दाहालको आलोचना भएपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओली समेतको सहमतिमा बन्द गरिएको बताएका थिए । उनले टिकटक प्रतिबन्धमा काँग्रेस सभापति शेरबहादुर देउवाको पनि सहमति रहेको बताएका थिए । दाहाल नेतृत्वको सरकारले सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुन थालेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको बताएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update