Shittalpati
तानसेनमा गाईजात्राको रौनक (फोटो फिचर)

 

सीमा भट्टराई

पाल्पा,पाल्पाको तानसेनमा आज गाईजात्राको रौनक देखिएको छ । दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व मनाइएको हो ।नेवार समुदायका मृतकका परिवारहरूले बिहानैदेखि गाईजात्रा निकालेका थिए । दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर सहर परिक्रमा गराइएको थियो । यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वासका साथ यसो गराइएको हो ।नेवारी परम्परा अनुसार जनैपुणिर्माको भोलिपल्ट गाइजात्रा पर्व मनाउने गरिन्छ । गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । जिल्लाको तानसेन, रामपुर, भैरवस्थान, खस्यौली, ताहुँ, जब्गादी, सिलुवा, हुमीन लगायतका ठाउँहरुमा गाइ जात्रा निकालिएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update