Shittalpati
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

देउखुरी, लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा आचार्यले  मतका लागि राखेको प्रस्तावमा दुईतिहाइभन्दा बढी मत प्राप्त भएको हो ।

आचार्यले पेस गरेको प्रस्तावको पक्षमा ७० सांसदले मत दिएका छन् । उनको विपक्षमा ११ जनाले मतदान गरे । मुख्यमन्त्री आचार्यको विपक्षमा माओवादीका ९, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १÷१ गरी ११ जना सांसदले विपक्षमा मतदान गरे । प्रदेशसभामा उपसभामुख मेनुका खाँड केसीसहित ४ जना सांसद रहेको राप्रपा भने मतदानमा तटस्थ रह्यो । ८७ सदस्य रहेको प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसद आवश्यक भए पनि काँग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा आचार्य लुम्बिनीको छैटौं मुख्यमन्त्री बनेका थिए ।

अहिले लुम्बिनीमा रहेका ११ दलमध्ये ७ दलका सांसदले आचार्यलाई विश्वासको मत दिएका छन् । स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि आचार्यको पक्षमा मत दिएका थिए । साउन ७ गते लुम्बिनी प्रदेशसभामा दुई ठूला दल एमाले र काँग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update