हरेक जाति, धर्म र सम्प्रदायको आ–आफ्नै सांस्कृतिक सम्पत्ति छ, जो विभिन्न चाडपर्वको रूपमा नेपाली समाजमा चलन चल्तीमा रहेका छन् । हिमाल, पहाड, तराई, पूर्व–पश्चिम सबै ठाउँमा आ–आफ्नै मूल्य–मान्यता र रीतिरिवाजअनुसार चाडपर्व मनाउने गरिन्छ । नेपालमा मनाउने चाडपर्वहरू अनगिन्ती छन् । ती सबै नेपाल र नेपालीको चिनारी र पहिचान हुन् ।
हाम्रो सामाजिक विविधतालाई यिनै चाडपर्वले एकतामा रूपान्तरण गरेको छ । हिन्दु धर्मको बहुलता रहेको नेपालमा हरेक दिनजसो कुनै न कुनै पर्व परिरहेकै हुन्छन् । नेपालमा वर्षभरिका धेरै दिन प्रायः कुनै न कुनै धर्म–संस्कृतिले रंगिएका पर्व, उत्सव अनि यसभित्रका खुसी र उमंगका दिनहरू नै पर्छन् । यस वर्षका पर्वहरु सुरु भएका छन् । सोमबार जनै पूर्णिमा पर्व मनाइएको छ । सनातन धर्मावलम्बीहरुले धारा, नदी, ताल, पोखरीमा गएर स्नान गरी गुरु पुरोहितबाट नवयज्ञोपवीत एवं रक्षासूत्र धारण गरी यो मनाइएको हो । तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाए । यसै दिन एघार थरीका गेडागुडी भिजाएर टुसा उमारी बनाइएको क्वाँटी खाने चलन पनि छ । यस दिन वैदिक मन्त्रद्वारा अभिमन्त्रित रक्षासूत्र हातमा बाँधेमा नकारात्मक शक्तिबाट रक्षा हुने मान्यता रहिआएको छ । क्वाँटी खानले वर्षामा खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली तापशक्तिको सञ्चार गर्छ र निरोगी बनाउन मद्दत गर्छ भन्ने मान्यता छ ।
त्यस्तै मंगलबार गाईजात्रा पर्व मनाइएको छ । पाल्पासहित देशैभर विभिन्न स्थानमा गाईजात्रा मनाइँयो । गाइजात्रा नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो । यो दिन वर्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ । यस्तै आज बुधबार रोपाइँ जात्रा हो । असारमा धानको रोपाइँ गरी सकेपछि यो पर्व मनाइन्छ । यो नेवार संस्कृतिबाट सुरू भएको हो । धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ । यो जात्रामा रोपाइँ जात्रा मनाउने चलन मल्लकालबाट चलिआएको हो । उतिखेरको समृद्ध राज्यहरूमा कृषिलाई विशेष प्राथमिकता दिँदै राजा प्रताप मल्लले रोपाइँ जात्राको सुरुवात गरेको मानिन्छ । जुनसुकै समाजको सांस्कृतिक जीवनमा चाडपर्व एक प्रमुख अंगका रूपमा क्रियाशील छ । चाडपर्वलाई सामाजिक, धार्मिक, सांस्कृतिक र मानव स्वास्थ्य रक्षाका दृष्टिले हेर्न सकिन्छ । प्रायः चाडपर्व एकातिर प्रकृतिसँग तादम्यता राख्छन् भने अर्कोेतिर परस्पर सद्भाव, सम्मान र सहिष्णुतालाई आत्मसात् गरेको देखिन्छ । यसर्थ चाडपर्व मनाउनुको पछाडी केहीन केही विशिष्ट अर्थ, सन्देश र अन्तर्निहित उद्देश्य रहेका छन् ।