Shittalpati
परम्परागत खेती छाडेर कफीखेतीतर्फ

गुल्मी, गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दैै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ । त्यहाँका किसान परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई छाडेर व्यावसायिक रुपमा कफीखेतीमा लागेका हुन् ।

कफीखेतीबाट बाँदर, बँदेलजस्ता वन्यजन्तुको समस्या नहुने भएका कारण किसानको रोजाइ मकै र कोदोभन्दा कफीखेतीमा परेको हो । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले किसानलाई व्यावसायिक रुपमा कफीखेती गर्न प्रेरित गर्दै आएको छ । परियोजनाले किसानलाई कफीको उत्पादन गर्ने तरिका र त्यसको महत्व तथा फाइदाका बारेमा जानकारी गराउँदै कफीखेतीका लागि बिरुवा, मल, नेटजालीलगायत सामग्री उपलब्ध गराउन थालेपछि त्यहाँका किसानलाई कफीखेती गर्न थप सजिलो भएको छ । मकै कोदोजस्ता परम्परागत खेती गर्दै आएका किसानका लागि कफीखेतीले थप आशा जगाएको छ । परम्परागत खेतीबाट बाँदर, बँदेल, दुम्सी तथा चराचुङ्गीबाट खेती जोगाउन हैरानी खेप्दै आइरहेको अवस्थामा कफीखेती त्यहाँका किसानका लागि उपयुक्त खेती बनेको हो । कफी खेतीका लागि सिर्सेनीमा ३० घरधुरी मिलेर तीनधारे कफी उत्पादन कृषक समूह गठन गरेका छन् । चार वर्षअघि गठन भएको उक्त समूहमार्फत सिर्सेनीका प्रत्येक घरधुरीमा व्यावसायिक रुपमा कफीखेती सुरु गरिएको छ । त्यहाँका प्रत्येक किसानको बारीमा ५० देखि दुई हजारसम्म कफीका बोट छन् । चार वर्षअघि रोपेका बोटले फल दिन सुरु गरिसकेको सिर्सेनी टोरेटाका किसान मेघलाल अर्यालले बताए । अर्याल त्यस क्षेत्रमा सबैभन्दा धेरै कफी लगाउने किसान हुन् । अर्यालको बारीमा यतिबेला दुई हजारभन्दा बढी कफीका बोट छन् । लगाएका बोटमध्ये कतिपय कफीका बोटले आम्दानी दिन सुरु गरेको उनले बताए । ‘विगतमा मकै र कोदो रोप्दै आएका बारी अहिले सबै कफीले ढपक्क ढाकेको छ’, उनले भने, ‘दश रोपनी जग्गामा सबैै कफी लगाएको छु, मैले कफी लगाएपछि अरू किसानलाई पनि उत्प्रेरणा जागेको छ ।’ अर्याल जस्तै अर्का कफी कृषक शशिधर अर्यालले पनि अन्य खेतीको तुलनामा कफीखेतीले किसानमा नयाँ आशा जगाएको बताए ।

प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाका प्रमुख गंगाकुमारी पोख्रेलले व्यावसायिक रुपमा कफीखेतीको विस्तारका लागि कार्यालयका तर्फबाट किसानलाई बिरुवा, मल, सिँचाइ, छहारी व्यवस्थापन, नेटजालीलगायत सामग्रीका लागि अनुदान उपलब्ध गराउँदै आएको बताइन् । किसानलाई कफी पाठशालामार्फत समय–समयमा प्राविधिक ज्ञान उपलब्ध गराउने गरेको पोख्रेलले जानकारी दिइन् । जिल्लामा कफीखेतीमा किसानको आकर्षण बढे पनि समय–समयमा कफीमा देखिने गरेको सेतो गबारो, ढुसी, डढुवा आदिका कारण कफीका बोटमा क्षति पुग्ने गरेको किसानको गुनासो छ । कफी उत्पत्तिको जननी जिल्ला भनेर चिनिने गुल्मीमा अहिले दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती गरिँदै आएको छ । जिल्लामा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुषन्धान केन्द्र भण्डारीडाँडा, स्थानीय तहलगायत कार्यालयले कफीखेतीको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update