Shittalpati
दिवंगत आफन्तको सम्झनामा ‘गाईजात्रा’

पाल्पा, दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मगलबार गाईजात्रा पर्व मनाइएको छ । एक वर्षभित्र दिव·त भएका आफन्तको सम्झनामा निकालिने गाइँजात्रा पर्व पाल्पासहित देशैभरका नेवार समुदायले मनाएका छन् ।

पाल्पाको तानसेनमा दिवङ्गत आफन्तको सम्झनामा परिवारका मानिसको सहभागितामा गाई र मानिसलाई शृङ्गारी बजार परिक्रमा गराइएको थियो । तानसेनका टोल– टोलबाट दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर नगर परिक्रमा गराइएको थियो । यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वासका साथ यसो गराइएको हो ।

विगतमा मृतकका घर घरबाट तानसेनका टोल–टोल गल्लीबाट, गाईजात्रा निकाल्ने परम्परा रहेता पनि पछिल्ला केही वर्ष यता भने निकै कम भएको पाइन्छ । सहभागीता कम भए पनि नेवार समुदायले जात्रालाई बर्सेनि निरन्तरता भने दिएका छन् । तानसेनको शित्तलपाटी, बसपार्क, आन्दोलनचोक, पेट्रोल पम्प, टक्सारटोल, पाल्पा दरबार परिसर वरपर गाईजात्रा ल्याउने र हेर्नेको निकै भीडभाड हुँदै आए पनि हिजोआज भने त्यस्तो भिड देखिदैनन् । यस वर्ष पनि तानसेनमा खासै भिड देखिएन । विगतमा तानसेन बजारमा सयौं गाईजात्रा हुँदै आए पनि यस वर्ष करिब एक दर्जन भन्दा कम गाईजात्रा निकालिएको छ । नेवार समुदायले आफ्ना दिवंगत परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा रहेको भएपनि अधिकांश नेवारी समुदाय तानसेनबाट विस्थापित हुँदै जाँदा संस्कृति पनि हराउँदै गएको तानसेन टक्सारका मंगल प्रसाद बज्राचार्यले बताए । तानसेनमा काठमाडौं उपत्यकापछि सबै भन्दा बढी जात्रा मनाइने क्षेत्र हो । तानसेनमा गाईजात्राबाट सुरु भएर कृष्ण नवमीको दिन भगवती जात्रा निकालेपछि मात्र समापन हुन्छ । गाई जात्राको दिन तानसेन नगर सरकारले स्थानीय बिदा दिएको थियो । विदाको दिन नगर कार्यपालिकाको कार्यालयसहित मातहतको सबै वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयसहित अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द रहेका थिए । जिल्लाको तानसेन, रामपुर, भैरवस्थान, खस्यौली, ताहुँ, जब्गादी, सिलुवा, हुमीन लगायतका ठाउँहरुमा गाइ जात्रा निकालिएको थियो । उता गुल्मीमा पनि नेवार समुदायले गाईजात्रा मनाएका छन् ।

गुल्मीको सदरमुकाम तम्घासमा यो वर्ष भरि दिवंगत भएका २ जना व्यक्तिहरुको सम्झनामा गाईजात्रा निकालिएको थियो । परम्परागत रुपमा निकालिएको गाईजात्रा तम्घास बजार परिक्रमण गराइएको थियो । जिल्ला सदरमुका तम्घाससँगै रुरुक्षेत्र गाउँपालिका–१ रिडी, बलेटक्सार, मुसिकोट नगरपालिकाको वामिटक्सार, सत्यवती गाउँपालिकाको खैरेनी, गुल्मीदबारको चारपाला लगायतका स्थानमा नेवार समुदायका नागरिकको बसोवास रहेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले गाईजात्रा पर्वको अवसरमा स्थानीय बिदासमेत दिएको थियो । नेवारी परम्परा अनुसार जनैपुणिर्माको भोलिपल्ट गाइजात्रा पर्व मनाउने गरिन्छ । गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update