Shittalpati
तानसेनमा निकालियो मतया यात्रा

पाल्पा, हातमा पानस, पाउमा पाउजु लगाएका महिलाको लस्कर, अर्कोतिर टोपीमा सजिएका पुरुष । बाजागाजासहित नगरको परिक्रमा गरेका दृश्यले बुधबार तानसेन रमाइलो देखिन्थ्यो । ४० वर्षपछि  तानसेनवासीले मतया यात्रा निकालेका छन् ।

मृतक आत्माको शान्तिको कामना गर्दै जनै पूर्णिमाको तेस्रो दिनबाट मतया यात्रा शुरु हुने गर्छ । तानसेनबासीले गाईजात्रा मनाइसेकाले बुधबार मतयाः यात्रा निकालिएको हो । तानसेनवासीहरू मतयाःलाई स्वागत गर्न बाजागाजासहित शहरको परिक्रमा गरेका थिए । यस वर्ष श्री ७ सुर्य विनायक मन्दिर दाफा भजन खलका अध्यक्ष मंगलमान बज्राचार्यको अगुवाईमा मतया निकालिएको हो । चामलको पिठोबाट बनाइएको खुर्सानी, मम, केराउ, अण्डा, स्याउ, भुटुवा लगायत थुप्रै सक्कली तथा नक्कली परिकार बोकेका महिलाले बजार परिक्रमा गरेका थिए । धिमे बाजासहित विभिन्न पोसाकमा महिला तथा पुरुष सजिएर मन्दिर र बौद्ध विहारमा नक्कली तथा सक्कली खानाका परिकार चढाएका थिए । टक्सारटोलका महिलाहरुले घर–घरमा बनाएका विभिन्न सामग्री बोकेर बजार परिक्रमा गरेका थिए ।  गाइजात्राको भोलिपल्ट मनाइने मतयाः यात्रामा सबैले आफ्नो जीवनकालमा एक न एक पटक सहभागी हुनै पर्छ भन्ने मान्यता रही आएको छ । मतया यात्रालाई दीपयात्रा पनि भनिन्छ ।

तानसेनमा धेरै वर्षपछि निकालिएको मतया यात्रा हेर्नेहरुको बाक्लो उपस्थिती रहेको थियो । हातमा बत्ति लिएर ‘मतया’(दिपजात्रा) मा निस्केका सर्वसाधारणको भिडले जात्राको उज्यालो छरेको छ । सांस्कृतिक भेषभुषा र बाजागाजाका साथ दिनभरजसो निस्केका झाँकीले सहरलाई जात्रामय बनाएको थियो । दिवंगत आत्माको शान्तिको लागि नगरमा रहेका विभिन्न बहाल तथा विहारहरु परिक्रममा गर्दा सर्वसाधारणका आँगनहरु समेत उत्सवमय बनेका थिए । मतयाःलाई नेकु जात्रा पनि भन्ने गरिन्छ । नेवारी भाषामा ‘नेकु’ ले भैसीलाई चिनाउँछ । गाइजात्राको भोलिपल्ट मनाइने हुँदा यसलाई नेकु मतया भनिएको पनि हुनसक्छ । नेवारी भाषामा ‘मतः’ को अर्थ बत्ती हुन्छ भने ‘या’ को अर्थ ‘चाडपर्व’ अथवा ‘यात्रा’ हुन्छ । ‘गुँला’को मध्यमा पर्ने हुनाले पनि यसलाई जिवनरुपी यात्राको उच्च विन्दूको उत्सवको रूपमा लिने गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update