Shittalpati
पाल्पामा समलिङ्गी विवाहलाई कानुनी मान्यता

पाल्पा, विवाह गरेको ३ वर्षपछि एक समलिंगी जोडीले कानुनी मान्यता पाएको छ । रामपुर नगरपालिका– ९ को वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।

पाल्पाका ३१ वर्षीया चिना कुमारी नेपाली र पूर्वी नवलपरासीका ३६ वर्षीय ज्योति सार्कीको समलिङ्गी विवाहले कानुनी मान्यता प्राप्त गरेको छ । जोडीले पाल्पाको रामपुर नगरपालिका–९ नम्बर वडा कार्यालयमा विवाह दर्ता भएसँगै कानुनी मान्यता प्राप्त गरेको हो । रामपुर नगरपालिका –९ जब्गादीकी निवासी चिना र पूर्वी नवलपरासी बौदीकाली–१, मिथुकरम निवासी ज्योतिको गत आइतबार वडा कार्यालयले विवाह दर्ता गरेको वडा अध्यक्ष डिलबहादुर रानाले बताए । विवाह दर्तामा चिनालाई दुलहा र ज्योतिलाई दुलही उल्लेख गरिएको उनको भनाई छ । वैदेशिक रोजगारीका क्रममा कतारमा बस्दै आएका दुवै जनाबिच पाल्पाको सिद्धबाबा मन्दिरमा ३ वर्षअघि परम्पराअनुसार विवाह भएको थियो । २०७१ मा वैदेशिक रोजगारबाट नेपाल आएका ज्योति र चिनाबिच चिनजान भएको थियो । चिना पनि वैदेशीक रोजगारमा जाने तयारी गरेकी थिइन् । सोही समयमा उनीहरुबिच चिनजान बढ्दै गयो । दुवै जना वैदेशीक रोजगारका लागि कतार पुगे । त्यहाँ रहँदा दुवै जनाको सम्बन्ध बढ्दै गएको थियो । अन्ततः  दुवै जना विवाह गर्ने निर्णयमा पुगे । लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरूको २०७८ असोज २९ मा विवाह भएको स्थानीय पञ्जीकाधिकारी तथा वडासचिव मो.युनस खानले  एनजेडीलाई  जानकारी दिए ।

मुलुकी देवानी संहिता–२०७४ ले प्रत्येक व्यक्तिलाई कानुनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुने व्यवस्था भए पनि चिना –ज्योति लगायत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका जोडीहरूले विवाहको कानुनी मान्यता पाउन सकेका थिएनन् । जसका कारण सुरुमा उनीहरुले परिवार र समाजको साथ पाउन सकेनन् । २०८० असार १२ गतेको सर्वोच्च अदालतको उत्प्रेषणयुक्त अन्तरिम आदेशसँगै गृह मन्त्रालयको निर्णय अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी अभिलेख रहने गरी ;समलिङ्गी विवाह दर्ताको व्यवस्था मिलाउन २०८१ वैशाख १२ गते स्थानीय तहलाई परिपत्र गरेसँगै विवाह गर्ने बाटो खुलेको थियो । सोही मौकामा उनीहरु नेपाल आएर विवाह दर्ता गरेका हुन् । चिना र ज्योतिले विवाह दर्ताका लागि निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रको आधारमा विवाह दर्ता प्रमाणपत्र जारी गरिएको वडासचिव खानले बताए । उनका अनुसार  जिल्लामै पहिलो पटक मलिंगी जोडीले कानुनी मान्यता पाएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर लैंगिक तथा यौनिक अल्पसंख्यकको जनसंख्या २ हजार ९ सय २८ देखिएको छ, जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हुन्छ । तर, सामाजिक विभेदको डरले यो समुदाय खुल्न नसक्दा जनगणनामा एकदमै कम देखिएको अधिकारकर्मीहरूको दाबी छ । कानुनी मान्यता नपाएर लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय जोडीहरूले परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने अधिकारबाट वञ्चित हुँदै आएका थिए । कानुनी मान्यता पाएपछि भने अन्य जोडीहरुलाई समेत विवाहमा मात्रै नभएर जनगणनामा, परिवार तथा समाजमा खुल्न धेरै सहज भएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update