राजनीतिक दलका नेताहरु गफ/भाषण गर्न निकै माहिर छन् । कुनै पनि औपचारिक कार्यक्रम, बैंठक, सेमिनार र प्रत्यक्ष भेटघाटमै किन न होस् नेताहरुको एउटै आवाज हुन्छ सुशासन कायम राख्ने र भ्रष्टाचार अन्त्य गर्ने । तर यसरी भाषण गर्ने र सुशासनका पक्षमा अभिव्यक्ति दिने नेताहरु जब आफ्नो जिम्मेवारीअनुसार काम गर्न थाल्छन्, त्यति बेला भने उनीहरुले सुशासन बिर्सन्छन् ।
भ्रष्टाचार जतिसुकै बढोस्, कुनै मतलब नै गर्दैनन् । यसले उनीहरुले बोली र व्यवहारमा ठीक उल्टो चरित्र प्रदर्शन गर्ने गरेको प्रस्ट हुन्छ । नेताहरुले गर्ने थोत्रा भाषणबाट नागरिक वाक्कदिक्क भइसकेका छन् । हरेक ठाउँमा राज्यको लगानी सहीरूपमा परिचालन हुन नसक्दा नागरिकका समस्या ज्युँकात्युँ छन् । अहिले पनि सडक, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतको पहुँचमा सबै नागरिक छैनन् । कतिपय योजनामा बजेटै नआउने र योजनाका लागि बजेट आएपनि समयमै खर्च नहुने अर्थात् नागरिकले विकास नपाउने परम्परा लामो समयदेखिको हो । नेताहरू भन्न छोडेका छैनन्, मैले धेरै काम गरेको छु । चुनाव आउँदा नागरिकको घरदैलोमा टुप्लुक्क पुग्ने र चुनावलाई समय निकाल्ने नेताहरू चुनाव सकिएपछि सम्पर्कबिहीन हुँदा जनताका समस्या समाधान हुन सकेका छैनन् । पहुँच र पावरको हैकम अहिले पनि चलिरहेको छ । यो अत्यन्त दुखको कुरा हो ।
मुलुक कुशासनको दलदलमा फस्दै गएको छ । सरकारका विभिन्न निकायहरु सुशासन कायम गर्ने दायित्वबाट पूर्णरुपमा विमुख भएको जस्तो देखिन्छ । यसका कारण पनि विभिन्न खालका भ्रष्टाचार र अनियमितता हुने क्रम जारी नै रहेको बुझ्न सकिन्छ । महालेखाले बर्सेनि गर्ने सरकारी निकायको लेखापरीक्षणमा पनि बर्सेनि अर्बौं रुपैयाँ बेरुजु आउने क्रम जारी छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि दिनहुँजसो भ्रष्टाचारमा संलग्न सरकारी कर्मचारीमाथि मुद्दा लैजाने क्रमसमेत घट्नुको साटो बढेको छ । सुशासन कायम गर्छु भनेर प्रतिवद्धता जनाउनेले त्यसलाई व्यवहारमा अनुभूत गराउन नसक्दा मुलुक कुशासनको दलदलमा फस्दै गएको छ । यसर्थ देश र जनतालाई समृद्धिको दिशामा अगाडि बढाउने हो भने नेताहरूले अब गफ/भाषण कम, काम ज्यादा गर्न जरुरी छ ।