हिजो सामाजिक सेवाको एक माध्मको रुपमा राजनीतिलाई लिने गरिन्थ्यो । राजनीति गर्ने सेवाका लागि हो भन्ने दरिलो तर्क थियो । राजनीतिमा लागेकाहरु पनि यस पक्षलाई प्रमाणित गर्ने कार्य र सोहि अनुशारको व्यवहार देखाउँथ्ये । जनताको सेवामा लाग्दा लाग्दै आफ्नो आर्थिक अवस्था दयनिय बनाएका उदाहरण प्रशस्त भेटिन्थे तर आज समय बदलिएको छ, नदीमा धेरै पानी बगेको छ, व्यवस्था मात्रै होइन राजनीतिज्ञको विचार परिवर्तन भएको छ, परिणाम स्वरुप राजनीतिकर्मीको कार्यशैली बदलिएको छ, ऐन कानुन बदलिएको छ । सेवा सुविधाहरु थपिएका छन् अनि खोजिदैछ नयाँ सेवा सुविधाहरु कसरी लिने, कसरी आजिवन लिने भन्ने कुरा । यी सबै राजनीतिलाई सेवाबाट पेशामा रुपान्तरण गर्नका लागि भैरहेका विषय हुन् भन्ने कुरामा दुईमत नरहला । साच्चै नयाँ नेपालको नयाँ सरचनाका लागि निर्वाचित राजनीतिकर्मीहरु पदलाई जनताको सेवाका लागि भन्दा पनि पदको दुरुपयोग गर्दै, आसेपासेको पृष्ठपोषणका लागि सुविधा थप्दै आर्थिक र शारीरिक परिवर्तन गर्न खोजिरहेको देखिन्छ । साथ दिएको छ लगाम विनाको घोडा जस्तै बनेका गणतन्त्रका निरिह सरकारहरुले । यहाँ यसैसँग सम्बन्धित विविध पक्षहरुलाई लिएर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
राजनीतिले राज्य सञ्चालनको नीति निर्माण गर्ने कार्यमा सहयोग पुर्याउने गर्दछ । यो विशेषतः राज्यको स्रोत साधनको व्यवस्थापनसँग सम्बन्धित रहेको छ । राज्य सञ्चालन साशन व्यवस्था कस्तो बनाउने भन्ने कुराको दिशा निर्देश राजनीतिले गर्दछ । राजनीतिलाई कसरी प्रयोग गर्ने मुख्य हात भने राजनीतिकर्मीको हातमा रहेको हुन्छ । समाज वा राष्ट्रमा आउने जुनसुकै समस्याको समाधानको आधार पनि राजनीति नै हो । तर राज्य सञ्चालनको एक मात्र निर्विकल्प आधारको रुपमा रहेको राजनीति नेपालमा आज भोली फोहरी खेलको रुपमा परिभाषित हुँदै जान थालेको देखिन्छ । सत्ता र व्यक्तिगत स्वार्थ प्राप्तिका लागि नैतिकता र इमान्दारिता गुमाउदै राजनीतिक नेतृत्वले प्रर्दशन गर्ने व्यवहार र जसको कारणले उत्पन्न हुने राजनीतिक अस्थिरता, छोटो समयमा भैरहने सरकार परिवर्तनले राजनीतिलाई फोहरी खेलमा लैजान खोजेको देखिन्छ । राजनीतिलाई फोहरी खेल भनेर यसबाट बेखवर हुन खोजे पनि यसलाई सफा गर्ने, विकसित गर्ने र परिभाषामा परिवर्तन गर्ने मुख्य हात पनि एउटा असल राजनीतिज्ञमा नै रहेको देखिन्छ । केहि राजनीतिक नेतृत्वको खराव व्यबहारका कारण पुरै राजनीतिलाई खराव प्रमाणित गर्न लागिपरेको पनि देखिन्छ । जे सुकै भएता पनि लोकतान्त्रिक साशन व्यवस्थाको अभ्यास गरेको नेपालका लागि राजनीति एक महत्वपूर्ण आधारको रुपमा रहेको छ ।
पछिल्लो समय नेपालको राजनीतिलाई नेपालका राजनीतिकर्मीले सेवा भन्दा पनि पेशामा रुपान्तरण गर्दै लगेको देखिन्छ । निर्वाचित पदलाई आर्थिक पक्षको सुधारको रुपमा प्रयोग गर्ने, आफ्नो स्वार्थका लागि विवादित निर्णय गर्न पनि पछि नपर्ने, कानुनले निर्देशीत गरेको भन्दा माथि उठेर काम गर्ने, ठेक्का पट्टाको कार्य गर्ने, डन गुण्डा, आसेपासे, चम्चे, धुपौरे जस्ता समूहको हितमा कार्य गर्ने, आर्थिक र वित्तीय अनुसाशन भन्दा माथि उठेर खर्च गर्ने, अपादर्शी र कानुन विपरीत आर्थिक बाँडफाँड गर्ने, अत्याधिक बेरुजु आउने गरि आर्थिक चलखेल गर्ने, रोजगारीको रुपमा पदलाई प्रयोग गर्ने, ठूलो रकम तलब भत्ताका रुपमा लिने, सोहि अनुसार आफु अनुकुलको नीति नियम बनाउने, आफै बोक्सी आफै धामीको व्यवहार प्रर्दशन गर्ने जनतालाई सुविधा भन्दा पनि नयाँ–नयाँ कर कहाँ लगाउन सकिन्छ खोजिमा दिन विताउने, आर्थिक मितव्ययिताको कुनै ख्याल नगर्ने जस्ता विविध कारणले राजनीतिक नेतृत्वले राजनीतिलाई सेवा भन्दा पनि पेशामा रुपान्तरण गर्न खोजेको देखिन्छ । नेपालको चुनावी खर्च भड्किलो हुँदै गएको र चुनाव आफ्नो पक्षमा पार्नका लागि राजनीतिक नेतृत्वले ठूलो रकम खर्च गर्ने र चुनाव जिति सके पछि कार्य अवधिभर चुनावमा खर्च गरेको रकम उठाउनका लागि लागि पर्ने, आगामी चुनावको खर्च व्यवस्थापनमा लाग्ने कारण यसो भएको भन्ने विचार पनि सुनिने गरेको पाईन्छ ।
अपराधिलाई संरक्षण गर्दा गर्दै विधिको साशन स्थापित गर्न असफल जस्तै देखिन्छन् । जिम्मेवार निकायका जिम्मेवार व्यक्ति गैर जिम्मेवार अभिव्यक्ति दिदै हिड्नु, राष्ट्रियताका विषयमा राज्य ज्यादै कमजोर हुँदै जानु, सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि जे सुकै कार्य गर्न पनि पछि नपर्नु, क्षमता र विज्ञताको कदर होइन राजनीतिक र भागबण्डाको राजनीतिले तिब्रता पाउनु, राज्यका निकायहरु कमजोर बन्दै जानु, ऐन नियमहरु राष्ट्रहितका लागि हैन व्यक्ति हितका लागि बनाइनु, आफु अनुकुलका लागि पटक पटक परिवर्तन भैरहनु, विकास तथा योजनाहरुमा कमिसनको चक्करले समयमा र गुणस्तरीय सम्पन्न नहुनु । अनुगमन र कारवाही गर्ने निकाय बेखवर र आर्थिक प्रलोभनमा पर्नु । देश विधिमा हैन् आदेशमा सञ्चालन गर्ने अभ्यासलाई बढावा दिदै लानु, कुनै पनि सरकारलाई सहज काम गर्न नदिनु विभिन्न किसिमका समस्याहरु उत्पन्न गराईरहनु । सरकार, संसदले होइन आन्दोलन र भिडले निर्णयमा प्रभाव पार्नु यी केहि सेवाबाट पेशामा रुपान्तरण भएको राजनीतिका कारण सिर्जना भएको देखिन्छ ।
राजनीति निर्विकल्प राज्य सञ्चालनको आधार हो । नेपालमा फोहरी खेलको उपमा पाएको राजनीतिलाई शुद्धिकरण गर्ने दायित्व राजनीतिक नेतृत्वमा नै रहेको देखिन्छ । राजनीतिलाई नीतिसँग जोडि नैतिकवान बनाउनु जरुरी देखिन्छ । यसका लागि पेशाको रुपमा विकास हुँदै गएको नेपाली राजनीतिलाई सेवासँग जोड्ने नैतिकवान व्यवहार देखाउन राजनीतिक नेतृत्व लाग्नु पर्ने देखिन्छ । सेवाले असल भाव झल्काउँछ, विभिन्न स्वार्थ र लोभलाई त्याग्न सहयोग पुर्याउदछ । राजनीति नेतृत्वले तलब, भत्ता, सुविधाको खोजिमा भन्दा पनि देश जनताको हितका पक्षमा समय खर्च गर्न सकेमा राजनीति सेवाका लागि गरिने कुरा प्रमाणित हुने देखिन्छ ।
राजनीति राज्य सञ्चालनको मुख्य नीति हो । राजनीतिलाई पेशा नबनाऔं, सत्तामा जाने, अकुत सम्पत्ति कमाउने साधनको रुपमा प्रयोग नगरौं । देश र जनताको हितमा काम गरौं । आफ्नो स्वार्थ पुरा गर्दै गर्दा देशलाई विश्वकै गरिब देश र जनतालाई दुखी जनता रहेको देश बनाउने खेल नखेलौ । कमाई खाने भाडाँको रुपमा पद र सत्तालाई नबनाउँ । राजनीतिलाई फोहरी खेल नबनाउँ । नेपाललाई विश्वकै सुन्दर, शान्त र सुखी र खुशी नागरिक बस्ने देश बनाउनका लागि राजनीतिमा उत्पन्न विकृतको अन्त्य गरौं राजनीतिलाई पेशा र इलामको रुपमा हैन सामाजिक सेवा र उत्तरदायित्वको उद्देश्यका साथ प्रयोग गरौं । (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)