Shittalpati
संकटमा चुँदारा समुदायको पेसा

गुल्मी, पछिल्लो समय यहाँ काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा संकटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रुपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिक र सिल्टेका भाँडा बिक्री हुन थालेपछि आफ्नो पेसा संकटमा परेको मालिका गाउँपालिका(७ घमिरका नरबहादुर कार्कीले बताए ।

आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सुपथ मूल्यमा आकर्षक देखिने आधुनिक प्रविधिका भाँडाकुँडा प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुख्र्यौली पेसा संकटमा पर्न थालेको कार्कीले बताए । ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिएका ठेका, आरी जस्ता भाँडा दूध, दही र मही राख्नका लागि प्रयोग गरिन्छ । काठका भाँडामा राखेको दही र मही चाँडो नबिग्रिने हुँदा खानका लागि निकै स्वादिलो र राम्रो मानिन्छ । पछिल्लो समयमा विस्तारै गाउँघरमा काठबाट निर्मित सामग्री विस्तारै लोप हुँदै जान थालेको मुसिकोट नगरपालिका–२ का धनबहादुर नेपाली बताउन्छन् । नयाँ पुस्ता बिस्तारै गाउँ छाडेर सहर तथा विदेश जाने र पुराना पुस्ता मात्रै रहेपछि यस्तो समस्या आएको उनले बताए । परम्परागत पेसा र पुराना सामग्रीको संरक्षण गर्न स्थानीय पालिकाले पनि खासै चासो देखाएका छैनन् । पालिकाले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत खासै प्राथमिकता नदिइएको चुँदारा समुदायको गुनासो छ । परम्परागत पेसाको संरक्षण र त्यसको बजारीकरणमा खासै चासो नदिँदा गाउँघरमा बिस्तारै काठका भाँडा लोप हुँदै जान थालेका हुन् । बजारमा पाइने प्लास्टिकबाट निर्मित भाँडा झट्ट देख्दा आकर्षक देखिने र मूल्य पनि काठका भाँडाको तुलनामा सस्तो पर्ने भएका कारण पनि यस्तो समस्या आएको गुल्मी उद्योग संघका वरिष्ठ उपाध्यक्ष जनक पन्तले बताए । यस्ता प्रकारका परम्परागत सामग्री र वस्तुहरुको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि पालिकाहरुले विशेष ध्यान पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।

परम्परागत शैलीबाट निर्माण हुने सामग्रीहरुको उत्पादन गर्न समय धेरै लाग्ने र अलि खर्चिलो हुने बताइएको छ । परम्परागत रुपमा यो पेसा गर्दै आएका व्यवसायी पछिल्लो समयमा काठका भाँडा बनाउने पेसाबाट आफ्नो गुजारा चलाउनसमेत गाह्रो भएको बताउँछन् । आफूले निर्माण गरेका सामग्री बिक्रीका लागि गाउँ–गाउँ डुलाउँदा पनि कहिले काहीँ बिक्री नहुँदा रित्तै खाली हात फर्किनु परेकोे छत्रकोट गाउँपालिका (१ हुँगाका यमन सुनारले गुनासो गरे । काठबाट निर्मित भाँडाको महत्वका बारेमा जानकारी नभएका कारण पनि पछिल्लो समयमा चुँदाराको पेसा संकटमा परेको हो । गाउँघरमा गिठीको काठबाट निर्माण गरिएका ठेकाको मूल्य बजारमा सात सयदेखि छ हजारभन्दा धेरै मूल्य पर्ने गर्दछ । जिल्लामा पछिल्लो समयमा आयोजना गरिने मेला महोत्सवलगायत सहकारी पसल र कोसेली घरमा यस्ता प्रकारका सामग्री बिक्रीका लागि राखिएका हुन्छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update