Shittalpati
पाल्पाबाट ३४ करोड २९ लाखको विद्युत विक्री

पाल्पा, पाल्पाबाट ३४ करोड २९ लाख भन्दा बढीको विद्युत विक्री भएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले गत आर्थिक बर्षमा ३४ करोड २९ लाख ६८ हजार ६ सय ९१ रुपैयाँ को विद्युत विक्री गरेको हो ।

केन्द्रले पत्रकार सम्मेलन गरी एक बर्ष भित्र गरेका कार्यक्रम र आगामी बर्षका योजना सार्वजनिक गर्दै उक्त रकमको विद्यतुु विक्री गरेको जनाएको छ । केन्द्रका प्रमुख एवं  इन्जिनीयर दिलिप मरासिनीले पाल्पा वितरण केन्द्रबाट गत आर्थिक बर्षमा ३४ करोड २९ लाख ६८ हजार ६ सय ९१ रुपैयाको विद्युत बिक्रि भएकोमा ३३ करोड ६९ लाख ३ हजार ५ सय ६३ रुपैयाँ राजश्व संकलन भएको बताए । पाल्पा वितरण केन्द्र लुम्बिनी प्रदेशमा उत्कृष्ट भई पुरस्कृत भएको कार्यालय प्रमुख मरासिनीले जनकारी गराए । केन्द्रले विद्युत विक्री भएको रकम मध्ये ९८.१५ प्रतिशत राजश्व संकलन गरेको, १० प्रतिशत चुहावट नियन्त्रण गर्न सफल भएको छ । केन्द्रमा ४० हजार ८ सय ४४ उपभोक्ताले प्रत्यक्ष विद्युत उपभोग गर्दै आएका छन् भने ८ हजार २ सय सामुदायिक विद्युतका ग्राहक रहेका छन् । विद्युत सेवालाई गुणस्तरीय बनाउन केन्द्रले जिल्लाभरी ३० वटा नयाँ ट्रान्सफर्मर, ८ वटाको क्षमता बृद्धि गरेको छ । निस्दी गाउँपालिका, माथागढी र तिनाउ गाउँपालिकाका विभिन्न स्थानमा पाल्पा वितरण केन्द्रले विद्युुतिकरण गरेको छ । तानसेन बजार क्षेत्रमा २४ किलोमिटर नयाँ सुरक्षित कालो तार फेरिएको जिल्ला भित्र ७ सय काठको पोल हटाई फलामे पोल राखेको पाल्पा वितरण केन्द्रले जनाएको छ । सडक बत्ती बापत तानसेन नगरपालिकाको करिव ९ करोड रुपैयाँ बक्यौता रहेको, किस्ता किस्तामा तिर्ने सहमति भएको ईन्जिनियर मरासिनीले बताए । केन्द्रमा करिव २० हजार ग्राहक २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहक भएकोमा उनीहरुलाई निःशुल्क गरिएको र तानसेन नगरपालिकाबाट २ हजार २ सय २६ जनालाई निःशुल्क विद्युत सेवा प्रदान हुँदै आएको मरासिनीले बताए । विद्युतीय सवारी साधनको लागि अर्गलीमा चार्जिङ स्टेशन राखिएको, आगामी दिनमा छहरा, आर्यभञ्ज्याङ्गमा चार्जिङ स्टेशन राख्ने तयारी रहेको र तानसेनको होलाङ्दीमा पनि एक उद्योगीसँग मिलेर चार्जिङ स्टेशन निर्माण काम अन्तिम चरणमा पुगेको उनले बताए ।

गत माघदेखी खानेपानी, कृषि सिंचाईको लागि सरकारले दिएको छुट सुविधा प्रदान गर्दै आएको छ । पाल्पामा खानेपानीका २२२ वटा, सिंचाईको लागी ५१३ वटा मिटर जडान भएका छन् । सरकारले खानेपानी मिटरमा ५० प्रतिशत छुट, सिंचाईमा प्रति युनिट २ रुपैया विद्युत उपलब्ध गराउँदै आएको छ ।

कार्यालयले गत बर्ष ५३ जना कालोसूचीमा  परेका  ग्राहकबाट ८ लाख १३ हजार ५ सय रुपैयाँ  समयमै रकम नबुझाएका १ हजार ८६ जनाको विद्युत लाईन काटी ६ करोड ८९ लाख ९० हजार ४सय ५ रुपैयाँ संकलन गरेको जनाएको छ । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले विगतमा भन्दा काम र व्यवहारमा पाल्पा वितरण शाखाले राम्रोसँग काम गरेको बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update