Shittalpati
सर्त राखेर नेपालमा टिकटक प्रतिबन्ध खुला

पाल्पा, सरकारले नेपालमा सामाजिक सञ्जाल ‘टिकटक’ मा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटक खुला गर्ने निर्णय गरेको हो । केही शर्त सहित टिकटक खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं  सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

टिकटक कम्पनीलाई तीन महिनाभित्र नेपाल सरकारले दिएका सर्तहरू पुरा गर्न भनिएको छ । सामाजिक सद्भाव भड्काएको भन्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटक प्रतिबन्धपछि दाहालको आलोचना भएपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओली समेतको सहमतिमा बन्द गरिएको बताएका थिए । उनले टिकटक प्रतिबन्धमा काँग्रेस सभापति शेरबहादुर देउवाको पनि सहमति रहेको बताएका थिए । दाहाल नेतृत्वको सरकारले सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुन थालेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको बताएको थियो ।  तर अहिले तिनै केपी ओली नेतृत्वको सरकारले सर्तसहित टिकटक खुला गर्ने निर्णय गरेको हो ।

सरकारले हालै पारित गरेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अन्य चार सर्तसहित टिकटकमाथि लगाएको प्रतिबन्ध खुला गरेको छ । निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने र टिकटकले उक्त निर्देशिकाबाहेक पनि चार सर्तहरु पूरा गर्नुपर्ने छ । टिकटकले नेपालको पर्यटन प्रवद्र्धधनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update