Shittalpati
जेसिजको विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना

पाल्पा, पाल्पा जेसिजले विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । जेसिजले तानसेनमा रहेको मोहन कन्या माविका विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना प्रदान गरेको हो ।

विद्यार्थीहरुमा यौन र प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी गराउने उद्देश्यले सचेतना कार्यक्रम गरिएको जेसिजले जनाएको छ । विद्यार्थीहरुलाई प्रशिक्षक निर्मला रेगामी र कुन्ति बरालले यौन र प्रजनन् बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिधान श्रेष्ठले पाल्पा जेसिजले विद्यार्थीहरुमा यौन र प्रजनन्का बारेमा सचेतना जगाउने कार्य गरेकोमा खुसी व्यक्त  गर्दै आफ्नो विद्यालयमै आएर सेचतना जगाएकोमा जेसिजलाई धन्यवाद समेत व्यक्त गरे । उनले समुदायमा मानिसहरुलाई बृहत् यौनिकता सम्वन्धी शिक्षा नहुँदा शारिरिक, मानसिक र शैक्षिक रुपमा परिपक्क नहुँदै विवाह गर्ने, महिलाका प्रजनन् स्वास्थ्य अधिकार प्रयोग नगर्ने, युवाहरुको शारिरिक रुपमा हुने विकासबाट आत्तिने भएकाले विद्यालय तहबाटै दिएको शिक्षाले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

विशिष्ट अतिथि विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीले हाम्रो देशमा यौन र यौनिकताको सवालमा कुरा गर्न अझै पनि बर्जित छ, त्यसैले युवालाई यौन सम्बन्धी कुरा गर्न, सिक्न र खोजी गर्न चूनौतीपुर्ण रहेको अवस्थामा जेसिजले सचेतना कार्यक्रम  विद्यालयमा पुगेर गर्नु आफै अनुकरणीय कार्य रहेको बताए । जेसिज पाल्पाका अध्यक्ष जेसी अर्जुन कार्कीले विशेष गरी छात्राहरुले उमेरसँगै आउने शारिरिक परिवर्तनका क्रममा हुने स्वास्थ्य समस्याहरु कसैलाई भन्न नसकेर कुण्ठित गरेर राख्ने गरेकाले त्यसलाई सहज बनाउन आफुहरुले विद्यालय तहमा पुगेर यौन र प्रजनन्का बारेमा सचेतना जगाउदै हिडेको उल्लेख गरे । उनले विद्यार्थीहरुलाई खुलेर यौन र प्रजनन्का बारेमा आफ्ना आमा, बुवा, दाजु, भाई दिदीबहिनीहरुलाई बताउन आग्रह गरे । कार्यक्रम संयोजक जेसी कला दाहालले तानसेन नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सचेतना कार्यक्रम गरिएको बताईन् । उनले विद्यालयको पाठ्क्रममै यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी विषय नै हटाइएकोले विद्यार्थीहरुमा अन्यौलता सिर्जना हुनुको साथै स्वास्थ्य समस्याहरु देखिदै गएकाले त्यसलाई सहजता प्रदान गर्न कार्यक्रम आयोजना गरिएको उल्लेख गरिन् । जेसिजका अध्यक्ष अर्जुन कार्कीको अध्यक्षता, एजिना खनालको आस्था पाठ, महासचिव विजय कार्कीको सञ्चालनमा कार्यक्रम  भएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update